सार्वजनिक स्थानको सामाग्री आफ्नो मातहतमा लिँदै नगरपालिका

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २७ जेठ /
सार्वजनिक स्थानमा राखिएका निर्माण सामाग्री नगरपालिकाले आफ्नो मातहतमा लिने भएको छ ।
टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा राखिएका ढुंगा, गिट्टी, बालुवा लगायतका सामाग्रीहरु जथाभावी राखिएको भन्दै त्यसलाई खाली गर्नको लागि यहीँ जेठ २० गतेको सूचना अनुसार त्यसको कार्यान्वयन नगरेका ब्याक्तीहरुले समयमै खाली नगरेको खण्डमा त्यसलाई आफ्नो मातहतमा लिएर अगाडि बढ्ने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीद्वारा जारी सुचनामा नगरपालिकाको सुचनाको प्रवाह नगरेर निर्माण सामाग्री नउठाएको खण्डमा त्यसको व्यवस्थापनका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौंराले नगरपालिकाको सुचनाको पालना नगर्ने जोकोहीको निर्माण सामाग्रीहरु नगरपालिकाले आफ्नो मातहतमा लिएर त्यसको आफ्नै स्रोतसाधनको प्रयोग गरी अगाडि बढ्ने बताएका छन् । त्यस्तै निर्माण व्यवसायी ज्ञानेन्द्र बहादुर शाहले नगरपालिकाको सुचना एकदमै राम्रो भएको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । “नगरपालिकाको निर्णय ठिक छ । जथाभावी रुपमा निर्माण सामाग्री थुपार्ने काम राम्रो होइन । यसले नगरपालिकाको सौन्दर्यतालाई समेत ह्रास गरेको छ ।” शाहले भने, “तर, निर्माण भैरहेको स्थानमा भने निर्माण सामाग्रीहरु निर्माण कम्पनीले राख्न पाउनुपर्छ । नभए त्यसले निर्माणमा असर पार्न सक्छ । अन्य कुरामा सार्वजनिक स्थानहरु खाली हुनुपर्छ ।”
त्यस्तै स्थानीय समाजसेवी रघुराज उपाध्यायले नगरपालिकाले गरेको कामको प्रशंसा गरेका छन् । उनले जनप्रतिनिधिहरुले गरेको कामको सुरुवाती राम्रो भएको बताउँदै त्यसलाई परिणाममा बदल्न आवश्यक रहेको बताएका छन् । “यो प्रयास राम्रो हो । यसमा सबैले सहयोग गर्नुपर्छ । सार्वजनिक स्थानहरू खाली हुनुपर्छ ।” उपाध्यायले भने, “सार्वजनिक स्थानहरुमा निर्माण सामग्रीहरु राखेका व्यवसायीहरुले पनि सहयोग गर्नुपर्छ । यो टीकापुर कै लागि राम्रो कुरा हो ।”
व्यवसायी बिरेन्द्र साउँदले सार्वजनिक स्थानहरू खाली गर्नको लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले अहिले सुरु भएको यो कदम यसभन्दा पहिले नै सुरु हुनुपर्ने बताएका छन् । “यो अघिल्लो नेतृत्वले गर्नुपर्ने थियो । अहिलेको सुरु गरेको छ । यसलाई नगरपालिकाले मात्रै नभई सबैको सहयोग लिनुपर्छ ।” साउँदले भने, “अब वास्तवमै टीकापुर बनाउने हो भने त्यसका लागि सबै लाग्नुपर्छ । राम्रो काममा सबैले साथ दिनुपर्छ भने नराम्रो काममा सबैले खबरदारी गर्नुपर्छ ।”
नगरपालिकाले एक सूचना जारी गरेपछि कतिपयले निर्माण सामाग्री हटाउन थालेका छन् भने कतिपयले नगरपालिकाले सामाग्री हटाउनको लागि भन्दै नगरपालिकालाई पत्र पठाएका छन् । नगर प्रमुख थारुले कसैले पत्र दिएपनी नगरपालिकाले थप समय नदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *