शेयेर गर्नुहोस
टीकापुर १२ साउन /
टीकापुर नगरपालिकामा कार्यरत ४६ जनाले सरकारी गाडी प्रयोग गर्दै आएको पाइएको छ ।
विशेषगरी वडा अध्यक्ष र कर्मचारीहरु सहित ४६ जनाले सरकारी मोटरसाइकल प्रयोग गर्दै आएको पाइएको हो । त्यसमा एउटै शाखाला तीनजना सहित कार्यालय सहयोगीलाई पनि सरकारी मोटरसाइकलको सुविधा नगरपालिकाले उपलब्ध गराएको पाइएको छ । कार्यालय सहयोगी निर्मला कडायतले सरकारी स्कुटर प्रयोग गर्दै आएको तथ्यांकले देखाएको छ । त्यस्तै जनस्वास्थ्य प्रवर्द्धन शाखामा तीन जना कर्मचारीले मोटरसाइकल प्रयोग गर्दा अन्य विषयगत शाखाका प्रमुखले सरकारी मोटरसाइकलको प्रयोग गर्दै आएका छन् । जसमा शाखा प्रमुख बलबहादुर रावल, सिनियर अहेव कमल रावल र हीमा ज्ञवाली रहेका छन् ।
योजना तथा प्राविधिक शाखाका अधिकांश कर्मचारीसँग सरकारी मोटरसाइकल छ । चारजना नगर प्रहरीले पनि मोटरसाइकलको सुविधा पाएको सुचना अधिकारी देबी प्रसाद आचार्यले जानकारी दिएका छन् । फिल्डको कामकाज गर्नुपर्ने हुँदा अधिकांश प्राविधिकलाई मोटरसाइकल उपलब्ध गराइएको छ । उनका अनुसार नगर प्रहरी प्रमुख पल पल शाह, लक्षिराम चौधरी, चन्द्रीका चौधरी र देवेन्द्र न्यौपानेले सरकारी मोटरसाइकल प्रयोग गर्दै आएका छन् । तीनजना सवारी चालकले सरकारी मोटरसाइकल पाएका छन् ।
वडा सचीवमा दुईजनासँग सरकारी मोटरसाइकल छ । वडा नं.१ का वडा अध्यक्ष चक्र बहादुर रावल र वडा नं. ६ का वडा सचीव मटराम चौधरीले सरकारी मोटरसाइकल चलाउँछन ।
नगरपालिकाको सम्पत्तिको रुपमा रेहेका पाँचवटा मोटरसाइकल कार्यालयमै थन्किएका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नगरपालिकामा रहेका चारवटा मोटरसाइकलमा आगजनी भएको तथ्यांकमा उल्लेख छ । नगरपालिकाको एउटा मोटरसाइकल चोरी भएको छ ।
बर्सेनि कर्मचारीहरुले आवश्यकताको आधारमा नभई रहरका आधारमा मोटरसाइकल खरिद गर्दै आएका छन् । केही कर्मचारीसँग महंगो मोटरसाइकल छ भने केहिले पुरानो मोटरसाइकल थन्काएर नयाँ मोटरसाइकल समेत खरिद गरेका छन् । गत आर्थिक वर्षमा मात्रै नगरपालिकाले तीनवटा मोटरसाइकल खरिद गरेको देखिन्छ । जुन सवारीसाधन नामसारी भैसकेका छैनन् । त्यसमध्ये एउटा स्कुटर रहेको छ । नगरपालिकाको जिन्सी शाखाको तथ्यांकमा ७३ वटा सानाठूला सवारीसाधन रहेका छन् ।
नगरपालिकामा पहुँचमा रहेका अधिकांशले राज्यको स्रोतको दुरुपयोग गर्दै सरकारी सवारीसाधन प्रयोग गर्दै आएको आरोप कर्मचारीलाई लाग्दै आएको छ । कुनै शाखाको प्रमुखले सवारीसाधन नपाउँदा कुनै शाखाका अधिकांश कर्मचारीसँग सवारीसाधन हुँदा त्यसको विरोधमा लामो दुरि प्रयोग गरेर कार्यालय पुग्ने कर्मचारीको आपत्ति छ । त्यतिमात्र नभई पहुँचका भरमा कतिपय कर्मचारीले नगरपालिका नछोड्दा पहुँच नभएका कर्मचारी बर्सेनि टार्गेटमा पर्ने गरेको पाइन्छ ।










