शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी १८ भदौ/
कैलालीको जोशीपुर गाउँपालिकाकी सुकरानी चौधरीको दिनचर्या आजभोलि कुला, वर्षातको पानीले बनेका तलाउ तिर बित्ने गरेको छ । बर्खाको खेती लगाइसकेपछि कामको चाप नहुने भएपछि त्यो फुर्सदको समयलाई माछा, झिंगा माछा, घोँगीको खोजिमा उहाँले बिताउने गरेको बताउनुभयो । “घरमा काम खासै हुँदैन । फुर्सदको समयमा थोरै भएपनि माछा मार्न सक्यो भने साझको तरकारी हुन्छ, सुकाएर राख्यो भने हिउँदको महिनामा खान हुन्छ । बढी भयो भने बिक्री गरेर आम्दानी गर्न सकिन्छ ।” सुकरानी भन्नुहुन्छ, “यसरी काम गर्दा समयको सदुपयोग पनि हुने, आयआर्जन पनि हुने भएपछि घरमा सबै सदस्यको दिनचर्या यसैमा बित्ने गरेको छ ।”
विशेषगरी कृषि गरेर जीवन निर्वाह गर्ने थारु समुदाय यतिबेला माछा तथा घोँगीको खोजीमा व्यस्त हुने गरेको छ । पुरुषहरू जाल हालेर माछा मार्ने गर्छन् भने महिलाहरू हेल्का, सखै हालेर माछा मार्ने गर्छन् । बर्खाको पानी जमेको ठाउँमा जाल तथा हेल्का, सखै लिएर माछा तथा घोँगीको खोजीमा त्यो समुदाय बिहानैदेखि व्यस्त हुने गरेको छ । बर्खा सकिएपछि पानी जमेको ठाउँको पानी सुकाएर पनि माछाको खोजीमा थारु समुदायका महिला लागेका हुन्छन् । त्यसमा केही बालबालिका अभिभावकको सिको गर्दै बिधालय बन्द भएको समयमा खोला तथा पानी जमेको तलाउमा पुग्ने गरेका छन् ।
आश्मा चौधरी भजनीको राष्ट्रिय माध्यामिक बिधालय धुसीमा ७ कक्षामा अध्ययन गर्दै आउनुभएको छ । उहाँ बिधालय बन्द भएको दिनमा दिनभर माछाको खोजिमा हेल्का लिएर खोला तथा तलाउ पुग्नुहुन्छ । आश्मा मात्रै नभई उहाँसँग कक्षाका साथीहरु पनि त्यहाँ पुग्नुहुन्छ । “साथीहरुसँग रमाइलो पनि हुने, अलिकति भएपनि माछा पनि हुने भएपछि बिधालय बन्द भएको दिन खोला तथा तलाउमा पुग्छौं ।” आश्मा भन्नुहुन्छ, “महिना भर लागेर एक दुई केजि सुकाएको माछा भएपछि त्यसलाई बिक्री गर्छौं । नभए आफैलाई खान पनि हुन्छ ।”
सोही बिधालयमा ८ कक्षामा अध्ययन गर्दै आउनुभएकी अनिता चौधरी माछा भन्दा पनि साथीहरूसँग रमाइलो हुने भएपछि खोलासम्म पुग्ने गरेको बताउनुहुन्छ । “कम्मरमा माछा राख्ने डिलिया, काधमा हेल्का हालेर खोला तथा पानी जमेको तलाउसम्म जानू नै रमाइलो लाग्छ । त्यो पनि आफ्नै उमेर समुहका साथीहरूसँग ।” अनिता भन्नुहुन्छ, “उसो त घरका सबै सदस्य दिनभर माछाकै खोजीमा हुनेहुँदा साझ एकदुई केजि माछा पुगिहाल्छ । त्यो बिक्री गरेर घर खर्चको जोहो आमाबुबाले गर्नुहुन्छ ।”
सीतादेवी चौधरी घोँगी बिक्री गरेर राम्रो आम्दानी गर्ने मध्येको एक हुनुहुन्छ । उहाँले एकदिनमा पाँच केजीसम्म घोँगी बिक्री गर्नुहुन्छ । “साउनदेखि मंसिरसम्म घोँगी बिक्री गरेर राम्रो आम्दानी हुन्छ । महिनामा २५ देखि ३० हजारसम्म कमाई हुन्छ होला ।” सीतादेवी भन्नुहुन्छ, “फुर्सदको समयको सदुपयोग पनि हुने, अर्कोतिर आम्दानी पनि राम्रो हुने ।” उहाँले गाउँबाट घोँगी संकलन गरेर बजार लिएर बिक्री गर्ने काम पनि गर्नुहुन्छ । एक सय ५० मा प्रती केजी खरिद गरेर दुई सयमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
भजनीका कर्णबहादुर चौधरी हुलाकी राजमार्ग अन्तर्गत भजनीको डुवान क्षेत्रमै व्यस्त देखिनुहुन्छ । उहाँ साझको समयमा डुवान परेको क्षेत्रमा जाल हाल्न व्यस्त देखिनुहुन्छ भने बिहान त्यो हालेको जाल निकाल्न । कर्णबहादुर जस्ता दर्जनौं डुवान भएको क्षेत्रमा माछाको खोजीमा लाग्नुभएको हुन्छ । “खेतीपाती लगाइसकेपछि अरु काम केही हुँदैन । दिनभर त्यसै बरालिनु भन्दा यतै व्यस्त हुन्छौं । बिक्री गर्न नभए पनि आफुलाई खानको लागि झिंगा माछा भैहाल्छ । बढी भएपछि बिक्री गरेर आम्दानी पनि हुन्छ ।” कर्णबहादुर भन्नुहुन्छ, “महिनामा माछा बेचेर १०/१५ हजार रुपैयाँ पनि आइहाल्छ । आफुलाई हिउँदसम्म खानको लागि तरकारीको जोहो पनि हुन्छ ।”
त्यसरी मारेको माछा तथा घोँगीको बजारीकरणको समस्या छैन । टीकापुर नगरपालिकामा होटेल व्यवसाय गर्दै आउनुभएका जीतबहादुर चौधरीको होटेलमा माछाका परिकार मात्रै पाइन्छन् । उहाँले स्थानीयले बिक्रीका लागि ल्याएका माछा तथा घोँगी खरिद गरिदिनुहुन्छ । स्थानीयबाट खरिद गरेर त्यसलाई अन्य होटेलमा पुर्याउने काम पनि उहाँले गर्दै आउनुभएको छ । “यो सिजनमा झिंगा माछा र घोँगी धेरै पाइन्छ । दिनमा २० देखि २५ केजीसम्म आउने गरेको छ । दुईतीन केजी बिक्री गर्न आउने धेरै हुन्छन् ।” जीतबहादुर भन्नुहुन्छ, “माछा चार सय देखि पाँच सय रुपैयाँ प्रति केजी खरिद गर्दै आएका छौँ भने घोँगी एक सय ५० देखि दुई सय रुपैयाँ प्रति केजीमा खरिद गर्दै आएका छौँ ।”
माछा बिक्री गर्न पुरुष बढी आए पनि घोँगी बिक्रीका लागि महिलाहरू बढी होटलमा पुग्ने गरेका छन् । विशेषगरी तलाउमा माछा भन्दा घोँगी बढी पाइने भएपछि महिलाहरूले घोँगी बढी ल्याएर आउने गरेका हुन । धमिलो पानीमा एकाएक जाँदा जोखिम भने निकै छ ।










