शेयेर गर्नुहोस
दिपक विश्वकर्मा, टीकापुर ०१ वैशाख /
गर्मी बढेसँगै टीकापुर अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ ।
गर्मी याममा विभिन्न रोगको संक्रमण बढ्ने भएको हुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्यामा समेत वृद्धि भएको हो । कैलालीको लम्की, बर्दगोरिया, जोशिपुर, जानकी, भजनी सहित बर्दियाबाट पनि बिरामीहरू सेवा लिन टीकापुर अस्पताल आउने गर्छन् । चर्को गर्मीका कारण अस्पतालमा सेवा लिन आएका सर्वसाधारणहरू लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा देखिएको छ ।
भजनीबाट सेवा लिन आएका अर्जुन नेपालीले टीकापुर अस्पतालमा अन्य स्थानको तुलनामा धेरै भिड हुने गरेको उल्लेख गर्दै व्यवस्थापन सुधारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार फार्मेसीमा इमेर्जेन्सी र ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन तथा विश्रामको व्यवस्था मिलाइएको छ । उनले अस्पतालमा अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै पूर्वाधारदेखि स्वास्थ्य सेवासम्मका कामहरू क्रमिक रूपमा अघि बढाइने बताएका छन् । बिरामीको बढ्दो चापका कारण हाल अस्पतालले पर्याप्त सेवा दिन चुनौती झेलिरहेको उनले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रेम कुमार राईले सेवाग्राहीहरूलाई उपलब्ध गराइएको शीतल स्थानमा लाइन बस्न बारम्बार अनुरोध गरे पनि त्यसलाइ पालना नगरेको बताएका छन् । उनले भिडियोमा स्पष्ट रूपमा बस्ने र लाइन लाग्ने शीतल स्थान देखिएको उल्लेख गर्दै सेवाग्राहीहरूलाई घाम लाग्ने स्थानमा नउभिन आग्रह गरेका छन् ।
स्थानीय रणबहादुर बिष्टले अस्पतालमा भवन मात्र नभई आवश्यकता अनुसार योग्य र सक्षम डाक्टर, नर्स तथा सीटी स्क्यानका जनशक्तिको व्यवस्थापन आवश्यक रहेको बताएका छन् । उनले आवश्यक दरबन्दी सिर्जना गरी लोकसेवा आयोगमार्फत जनशक्ति पूर्ति गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यसैबीच, स्थानीय रोहित अधिकारीले अस्पतालको टिकट प्रणाली डिजिटल बनाउन सकिने भए पनि अहिलेसम्म यस्तो सानो सुधारसमेत हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
यसैबीच, नेपाल सरकारले मिति २०८२/१२/२३ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गरेसँगै टीकापुर अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । मिति २०८२ साल चैत्र २९ गतेदेखि हरेक आइतबार सार्वजनिक विदाको दिनमा सिमित विशेषज्ञ तथा चिकित्सकहरू कार्यरत विभागका ओपीडी सेवाहरू अर्को निर्देशन नआएसम्म सञ्चालन हुने व्यहोरा अस्पताल प्रशासनले सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएको छ ।










