शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी १३ असार /
कैलालीमा दरबन्दी भन्दा बाहेकका स्वास्थ्यकर्मीहरुको तलबभत्ता नआउँदा ९ महिनादेखि केहि पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् ।
जानकी गाउँपालिकामा २० जना स्वास्थ्यकर्मी दरबन्दी भन्दा बढी छन् । जुन कर्मचारीका लागि संघीय सरकारबाट आउनुपर्ने तलबभत्ता वापतको रकम आएको छैन । स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा एक करोड १४ लाख रकम मात्रै आएको बताउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलबभत्ताको लागि तीन करोड ४२ लाख आवश्यक पर्ने बताउनुभयो । “आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलबभत्ता बुझेका थियौं । त्यसपछि स्वास्थ्य मन्त्रालय लगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा पनि अझै तलब आएको छैन ।” उहाँ भन्नुहुन्छ, “वर्षको अन्तिम महिनासम्म पनि तलब आएको छैन । कर्मचारीहरु निकै तनावमा रहनुभएको छ ।”
गतवर्ष पनि गाउँपालिकामा दुई महिनाको लागि स्वस्थ्यका कर्मचारीको तलब अपुग भएको थियो । जुन रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आर्थिक वर्षका लागि पनि स्वस्थ्यका कर्मचारीका लागि तलबभत्ता कम आएको स्वस्थ्य शाखा चौधरी बताउनुहुँन्छ । उनकाअनुसार आउने वर्षका लागि पनि एक करोड १४ लाख मात्रै बजेट आएको छ । जुन बजेटले चालू वर्षको समस्या आउने वर्ष पनि निरन्तरता पाउने उहाँको शंका छ ।
संघबाट समायोजन भएर गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले ९ महिनादेखि तलब नपाउँदा घर व्यवहार चलाउन निकै मुस्किल भएको बताउनुभयो । “बैंकको किस्ता सापटी मागेर तिर्नु परेको छ । बालबालिकाको स्कुलको शुल्क तिर्न सकिएको छैन । किनेर खानुपर्ने बाध्यता हुँदा व्यापारीले विश्वास गर्न छोडिसक्यो ।” उहाँ भन्नुहुन्छ, “आयस्रोतको आधार त्यहीँ जागिर हो । त्यहाँबाट पनि यत्रो लामो समयसम्म तलब नपाएपछि घर व्यवहार चलाउन कठिन भैसकेको छ ।”
जानकी जस्तै गोदावरी नगरपालिकामा पनि स्वास्थ्यकर्मीले तलबभत्ता पाउन सकेका छैनन् । त्यहाँ पनि दरबन्दी भन्दा ३९ जना स्वास्थ्यमा कर्मचारी बढी छन् । गोदावरीमा ५२ जनाको दरबन्दी रहेकोमा ९१ जना स्वास्थ्यमा कर्मचारी कार्यरत छन् । चालू आर्थिक वर्षमा दरबन्दी भएकै कर्मचारीको पनि एक करोड १३ लाख रकम कम आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताउनुभयो । “गतवर्ष पनि दरबन्दी भएका कर्मचारीको लागि तलबभत्ता पहिले नै आएको थियो भने विना दरबन्दीका कर्मचारीको असार मसान्तमा आएको थियो ।” उहाँले भन्नुभयो, “यसवर्ष पनि कर्मचारीहरु त्यहीँ आशा गरेर बस्नुभएको छ । तलब आए ठिकै छ नभए स्थानीय सरकारले त्यसको व्यवस्थापन गर्नुपर्छ ।”
स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दी बिना कर्मचारी सरुवा गर्दा समस्या भएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउनुहुँन्छ । “जनप्रतिनिधिले पहुँचका आधारमा आफ्ना मान्छेलाई घर पायक पार्न खोजेकै कारण समस्या भएको हो । कर्मचारी सरुवा गर्दा त्यो कर्मचारीको सबै सेवा सुविधा बेहोर्ने सम्झौताअनुसार कर्मचारी दरबन्दी छोडेर आएको हो ।” उहाँ भन्नुहुन्छ, “आज स्वास्थ्यको तलब जहाँ दरबन्दी छ त्यहाँ गैरहेको छ तर कर्मचारी नहुँदा त्यहाँ गएको रकम खर्च भैरहेको छैन । जहाँ कर्मचारी समायोजन भएर आएका छन् त्यहाँ पैसा पुगेको छैन ।”
टीकापुर नगरपालिकामा पनि १० जना कर्मचारी बिना दरबन्दी कार्यरत छन् । १४ जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेको नगरपालिकामा २४ जना कार्यरत छन् । संघीय सरकारले स्वास्थ्यका कर्मचारीको तलब दिने स्थिति नभए स्थानीय तहले गरेको सम्झौताअनुरूप समायोजन भएर आएका कर्मचारीलाई तलबभत्ता दिनुपर्ने प्रमुख रावलले बताउनुभयो । कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुमा यो समस्या देखिएको छ । एकदुई महिनासम्मको तलब अपुग भएका सबै पालिका छन् । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारीहरु समस्यामा परेको रावलले बताउनुभयो ।
केही पालिकाले आफ्नो स्रोतबाट अपुग तलबभत्ता व्यवस्थापन गरेको पनि पाइएको छ । चालू आर्थिक वर्षमा भजनी नगरपालिकामा पनि २८ लाख तलबभत्ताको बजेट कम आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा ४० जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ३० जनाको मात्रै दरबन्दी छ । बाँकी १० जना समायोजन भएर आएका कर्मचारीको तलब यसवर्ष नगरपालिकाले आफ्नै स्रोतबाट भुक्तानी गरेको उहाँले बताउनुभयो । “हामीलाई करिब तीन करोड बजेट चाहिथ्यो । संघबाट दुई करोड ७२ लाख मात्रै आयो ।” उहाँले भन्नुभयो, “अपुग हुन आउने रकम नगरपालिकाले भुक्तानी गरेको छ ।”










