नवजीवनको नाफा १६ करोड बढी

शेयेर गर्नुहोस


टीकापुर २१ मंसिर /
नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा १६ करोड भन्दा बढी खुद नाफा कमाएको छ
सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १६ करोड ४१ लाख ६ हजार खुद नाफा कमाएको हो । आर्थिक वर्ष २०७९/०८० मा भने १२ करोड ४८ लाख ६२ हजार खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा सहकारी संस्थाले पाँच अर्ब एक करोड ९० लाख पाँच हजार निक्षेप संकलन गरेको छ । ३४ हजार तीन सय ९५ जना शेयर सदस्य रहेको सहकारी संस्थामा ६२ करोड पाँच लाख शेयर पुँजी पुगेको बताइएको छ । २०८१ असार मसान्तसम्म सहकारीको कर्जा रकम चार अर्ब चार करोड ५२ लाख ४३ हजार पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी संस्थाले आफ्नो ३१ औं वार्षिक साधारण सभा इकाइगत वार्षिक साधारण सभा सुरु गरेको छ । मंसिर १८ गते बर्दिया बाँसगढी शाखाको इकाईगत साधारण सभा सम्पन्न गरेको सहकारीले बिहीबार टीकापुर, जोशीपुर शाखाको इकाईगत साधारण सभा सम्पन्न गरेको छ । सहकारी संस्थाका अध्यक्ष देब बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले नवजीवन सहकारी सुदुरपश्चिम प्रदेशको मात्रै नभई देशकै नमुना सहकारी भएको बताएका छन् ।
उनले सहकारीले बैंकले दिनेभन्दा महत्त्वपूर्ण सेवा प्रदान गरेको बताए । “बैंकसम्म पहुँच नभएका सानो लगानी खोजीरहेकाहरुका लागि सहकारीले राम्रो सहकार्य गरेको छ । त्यसमा नवजीवनको भुमिका पनि महत्त्वपूर्ण छ ।” उनले भने, “केही समयदेखि केही सहकारीमा देखिएको बेथितिले भने सहकारी प्रती नागरिकहरूको वितृष्णा बढ्दै गएको छ । यस्तो अवस्थामा पनि विश्वास जितेका सहकारीलाई खासै समस्या छैन जस्तो लाग्छ ।”
सहकारी संस्थाको २२ गते सुखड शाखा, २४ गते अतरिया शाखा र २७ गते धनगढीको साधारण सभा तय गरिएको बताइएको छ । सहकारी संस्थाको टीकापुर शाखामा पाँच हजार र जोशीपुर सेवा केन्द्रमा एक हजार पाँच सय शेयर सदस्य रहेका छन् । सहकारी संस्थाका महाप्रबन्धक डम्बर सिंह गुरुले सञ्चालन गरेको टीकापुर शाखाको कार्यक्रमको स्वागत उपाध्यक्ष चेतराज ओझाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *