वडाले सञ्चालन गर्यो कम्प्युटर र लोकसेवा तयारी कक्षा

शेयेर गर्नुहोस


टीकापुर ०२ पुस /
टीकापुर नगरपालिका वडा नं. २ ले तीन महिने बेसिक कम्प्युटर तालिम सञ्चालन गरेको छ ।
वडाको चालू आर्थिक वर्षको विनियोजन बजेटबाट वडाका भित्र रहेका अपाङ्गता भएका व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसंख्यक मुक्त कमैया, कमलहरी, हरूवा, चरुवा दलित तथा विपद प्रभावित बालबालिकाहरुका लागि बेसिक कम्प्युटर तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपक चौधरीले बालबालिकालाई समय सुहाउँदो अतिरिक्त शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कम्प्युटर तालिम आयोजना गरिएको बताएका छन् । उनले समयको मागअनुसार तालिम आयोजना गरेको बताउँदै त्यसलाई व्यावसायिक बनाउने गरी सिक्न प्रशिक्षार्थीलाई आग्रह गरेका छन् ।
“गतवर्ष पनि कम्प्युटर तालिम आयोजना गरिएको थियो । सिमित स्रोतका बाबजुद फारम भरेका सबैलाई समावेश गर्न नसकिँदा यसवर्ष पुनः बाँकीलाई लक्षित गरेर बजेट विनियोजन गरेका थियौं ।” वडा अध्यक्ष चौधरीले भने, “अब अर्को वर्ष डिप्लोमा तहका लागि वडाले बजेट विनियोजन गर्ने छ । त्यसमा यसपटक लगनशील भएर सिकेका प्रशिक्षार्थीलाई समावेश गरिने छ ।” उनले वडाले बजेट खर्च गरे पनि स्थानीयले तिरेको कर भएका कारण आफैले लगानी गरेर सीप सिकिरहेको छु सोचेर सिक्न आग्रह गरेका छन् ।
वडाको एक लाख ५० हजार बजेटमा ६० जनाले तीन महिना कम्प्युटर सिक्ने छन् । कम्प्युटर तालिमको प्राविधिक सहयोग डाइनामिक कम्प्युटर ईन्स्टिच्युटको हुने छ । तालिम तीन महिना सञ्चालन हुने बताइएको छ । वडा सदस्य खम्म ठकुल्लाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचीव चक्रबहादुर रावलले गरेका थिए ।
त्यसैगरी सोमबार नै वडाले वडाका युवाहरूलाई लक्षित गरेर लोकसेवा तयारी कक्षाको पनि उद्घाटन गरेको छ । एक लाख ५० हजार वडाको लागतमा २० प्रतिशत लागत सहभागिता रहेको उक्त कार्यक्रममा ४३ जनाको सहभागिता रहेको वडा अध्यक्ष चौधरीले बताएका छन् । उनका अनुसार लोकसेवा तयारी कक्षा टीकापुर ट्युसन सेन्टरले सञ्चालन गरेको छ । जसमा प्रशिक्षार्थीले लोकसेवा बुक पनि पाउने छन् । लोकसेवा तयारी कक्षा दिनमा दुई पटक ६० दिन सञ्चालन हुने वडा अध्यक्ष चौधरीले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *