शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १५ असार /
कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुर स्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
केही दिन अगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सुचारु भएपछि फोटो खिक्ने, भिडियो बनाउनेको भिड लाग्न थालेको हो । कर्णाली नदी अनि फाँटको सुन्दरताको अवलोकनका लागि पनि स्थानीय त्यहाँ पुग्न थालेका हुन । “गर्मी बढी छ, साझको समयमा शिथिलताका लागि पुलको अवलोकन गर्न आएका हौं ।” टीकापुर नगरपालिका वडा नं. ५ का किरण चौधरी भन्छन्, “यहाँ सोचेभन्दा भिड हुँदो रहेछ ।”
पुलमा फोटो र भिडियो खिच्ने व्यावसायिक फोटोग्राफरले पुल अवलोकन गर्न आएका पर्यटकलाई सेवा प्रदान गर्दै आउनुभएको छ । “पहिले टीकापुर पार्क, बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफीको काम गर्दै आएका थियौं ।” बर्दियाका राजेश चौधरी भन्नुहुन्छ, “केही दिनदेखि पुल अवलोकन गर्न आउने पर्यटकबाट राम्रो आम्दानी भैरहेको छ ।”
आन्तरिक पर्यटकहरुका लागि मात्रै नभई कैलालीको टीकापुर र बर्दियाको राजापुरसँगको दुरी नजिकिएको छ । २३/२४ किलोमिटरको दुरी पुल बनेपछि लगभग १४/१५ किलोमीटरमा झरेको छ । डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सधैका लागि हटेको छ । “दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुको साथै स्थानीय नागरिकहरूको आवागमन ठूलो राहत हुनेछ ।” स्थानीय प्रेमप्रसाद भण्डारी भन्नुभयो, “पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि झन आन्तरिक पर्यटकहरुको संख्या वृद्धि हुन्छ ।” उहाँले पर्यटन प्रवर्द्धनसँगै टीकापुर र राजापुर क्षेत्रका नागरिकहरूको दैनिक जनजीवन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्माणका लागि २०८४ असार ११ गतेसम्म समय पाएको थानी निर्माण सेवाले एक वर्षमै काम सम्पन्न गरेको जनाएको छ । २०८२ असार ११ गते सम्झौता भएको उक्त आयोजनाको काम सम्पन्न भएको प्रबन्धक विक्रम बस्नेतले जानकारी दिनुभयो । “पुलको काम सम्पन्न गरेर आवागमन सुचारु भैसकेको छ ।” उहाँले भन्नुभयो, “अब हस्तान्तरणको तयारी पनि हुँदै छ ।” पुल उद्घाटनको लागि असार १२ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको कार्यक्रम तय भएको थियो । अन्ततः कार्यव्यस्तताले उक्त दिन पुलको उद्घाटन हुन सकेन ।
१५ करोड ७३ लाख ९५ हजार पाँच सय २८ रुपैयाँको लागतमा बन्न लागेको उक्त पुलको लम्बाई चार सय ८२ मिटर रहेको छ । पुल निर्माण भएपछि स्थानीय निकै खुशी छन् । पुलबाट मोटरसाइकल र साइकल सहजै लैजान सकिन्छ । “आवतजावतको सहजतमा मात्रै नभई कर्णाली नदीमा बनेको पुल पर्यटकको आकर्षण केन्द्र बन्न सक्ने सम्भावना छ ।” स्थानीय सुन्दरलाल थारु भन्नुहुन्छ, “त्यसो हुँदा अन्य व्यावसायिक गतिविधि बढ्ने र स्थानीयको आम्दानीमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।”
यसैगरी कर्णाली नदीमा दुईवटा पुल निर्माण सम्पन्न भएका छन् । टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टी स्थित कर्णाली नदीमा निर्माण भएको पक्की पुलको काम पनि सम्पन्न भएर आवागमन सुचारु भैरहेको छ ।










