शेयेर गर्नुहोस
टीकापुर ०६ पुस /
जानकी गाउँपालिका स्तरीय वृहत् शैक्षिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पुर्व मन्त्री रञ्जिता श्रेष्ठले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै सिमित राख्न नहुने बताउनुभएको छ । कार्यक्रमको सम्बोधनका क्रममा पार्टी अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई क्षमताको आधारमा अतिरिक्त क्षेत्रमा पनि अवसर सिर्जना गर्नुपर्ने बताउँदै पाठ्यक्रममा मात्रै बिद्यार्थीलाई केन्द्रित गर्न नहुने बताउनुभएको हो ।
“बिद्यार्थीहरुलाई बिधालयमा पनि स्वतन्त्रतापुर्वक सिक्न पाउने वातावरण सिर्जना गरिनुपर्छ । त्यसमा पाठ्यक्रम भन्दा पनि बिद्यार्थीले रुचि अनुसारको सिकाई सिक्न पाउनुपर्छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सिर्जनशीलता र नैतिक शिक्षामा जोड दिन सक्यो भने सामुदायिक बिधालयको शिक्षा अब्बल बन्छ ।” सम्बोधनका क्रममा पुर्व मन्त्री समेत रहनुभएकी श्रेष्ठले शिक्षा र अभिभावक बालबालिकाको आधारस्तम्भको रुपमा रहेको बताउनुभएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर तिनै तहको सरकारले समन्वयात्मक भुमिकाबाट अगाडि बढ्नुपर्ने उहाँको धारणा छ । “तीन तहको सरकारले जनताका आधारभूत आवश्यकतामा समन्वयात्मक ढंगबाट काम गर्न सक्नुपर्छ । जसबाट छिटो उपलब्धि हासिल हुन सक्छ ।” उहाँ भन्नुहुन्छ, “संविधान कार्यान्वयनमा देखिएको अन्यौलताले सरकारबीच समन्वय र सहकार्य हुन सकेको छैन ।” पुर्व मन्त्री श्रेष्ठले शिक्षालाई परिवेश सुहाउँदो गरी परिमार्जन गर्दै व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष लालमती देवी कठरियाले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा बजेटको ठूलो हिस्सा खर्च गर्दै आएको बताएकी छन् । उनले शैक्षिक क्षेत्रमा गाउँपालिकाको नतिजा जिल्लामै उत्कृष्ट बनाउनेतर्फ सबैले आआफ्नो क्षेत्रबाट लाग्न आग्रह गरेकी छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बिधालय र बिद्यार्थीलाई सबल बनाउनका लागि गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको बताउँदै त्यस कार्यविधिले गाउँपालिकाको शिक्षामा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
समाजसेवी तथा पुर्व शिक्षक दामोदर पण्डितले शिक्षामा त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताएका छन् । उनकाअनुसार शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्ध समधुर भए शैक्षिक क्षेत्र आफै विकसित बन्ने छ । शिक्षामा जस्तो सम्मान अन्य क्षेत्रमा नभएको उनको भनाइ रहेको थियो । “शिक्षामा घुस खान पाइदैन, तर मान, सम्मान र इज्जत सबैभन्दा बढी पाइन्छ ।” उनले भने, “त्यसले शिक्षकले आफ्नो पेशामा गर्व गर्न सक्नुपर्छ ।” बालबालिकाहरुको प्रतिभा पहिचान हुने, कला, संस्कृति र संस्कारको सिकाई हुने क्षेत्र पनि बिधालय भएको पण्डितले बताएका छन् ।
कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट धारणा राख्दै जनता माद्यामिक बिधालयका प्रधानाध्यापक नारायण प्रसाद तिमिल्सिनाले स्थानीय तहको नीतिगत तथा कार्यगत गतिविधिले शैक्षिक क्षेत्र सुधारतर्फ उन्मुख हुँदै गएको बताएका छन् । उनका अनुसार गाउँपालिकामा पछिल्लो समय शैक्षिक क्षेत्रमा आशा लाग्दा कामहरू हुँदै गएका छन् ।
गाउँपालिकाले नतिजामा आधारित अनुदानका लागि उत्कृष्ट बिधालयलाई नगद सहित प्रमाणपत्र प्रदान गरेको छ । जसअनुसार माद्यामिक तहतर्फ भृकुटी माद्यामिक बिधालय प्रथम भएको छ । जसले चार लाख नगद प्राप्त गरेको छ । त्यसैगरी दोस्रो स्थान हासिल गरेको जनता नमुना माद्यामिक बिधालय मुनुवाले दुई लाख ५० हजार प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्ने अरुणोदय माद्यामिक बिधालय खैरिफाँटाले एक लाख ५० हजार प्राप्त गरेको छ । आधारभूत तहतर्फ राष्ट्रिय आधारभूत बिधालय खैरिपुर प्रथम भएको छ । जसले तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो स्थान हासिल गरेको हिमालय राष्ट्रिय माद्यामिक बिधालय अमरावतीले दुई लाख प्राप्त गरेको छ ।
गाउँपालिका स्तरीय वृहत् शैक्षिक कार्यक्रममा शैक्षिकसत्र २०८० को कक्षा ८ र एसइईमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरेको छ । जसअनुसार कक्षा ८ मा बालज्योती माद्यामिक बिधालय जगतपुरका भावना भण्डारी प्रथम, दोसो अरुणोदय माद्यामिक बिधालयका गिरिसा रावल र तृतीय बालज्योती माद्यामिक बिधालयका सृष्टि विश्वकर्मा पुरस्कृत भएका छन् ।
त्यसैगरी २०८० को एसइई परिक्षामा गाउँपालिका भित्रबाट प्रथम हुने बालज्योती माद्यामिक बिद्यालयका कुशल देवकोटा, अरुणोदय माद्यामिक बिद्यालयका सेलेशा खड्का दोस्रो र भृकुटी माद्यामिक बिधालयका सोनम चौधरी तेस्रो स्थानमा सम्मानित भएका छन् । सम्मानित हुने विद्यार्थीले क्रमशः तीन हजार, दुई हजार पाँच सय र एक हजार पाँच सय नगद सहित प्रमाणपत्र र सामान्य ज्ञानको किताब प्राप्त गरेका छन् । कार्यक्रममा गाउँपालिका भित्रका माद्यामिक तहसम्म अध्ययन हुने बिधालयलाई लोकसेवा तथा शिक्षक सेवा आयोगको पाठ्यपुस्तक वितरण समेत गरिएको छ ।
यहीँ पुस २ गते भएको माद्यामिक तथा आधारभूत तहको चित्रकला प्रतियोगितामा आधारभूत तहतर्फ बालज्योती माद्यामिक बिधालयका जनक भण्डारी प्रथम, जनता आधारभूत बिधालय अमरावतीका कृपा चौधरी दोस्रो, राष्ट्रिय आधारभूत बिधालय गलौरीका शर्मिला चौधरी शान्तवना भएका छन् । त्यसैगरी माद्यामिक तहतर्फ भृकुटी माद्यामिक बिधालयका सुप्रीया चौधरी प्रथम, सरस्वती माद्यामिक बिधालयका खिमा धामी दोस्रो, अरुणोदय माद्यामिक बिधालयका जगदीश नेपाली तेस्रो र महेन्द्र शिशु माद्यामिक बिधालयका रोहित चौधरी शान्त्वना भएका छन् ।
त्यसैगरी माद्यामिक तहको गायन प्रतियोगितामा अरुणोदय माद्यामिक बिधालय प्रथम, आदर्श माद्यामिक बिधालय खग्रौली दोस्रो र सरस्वती माद्यामिक बिधालय दुर्गौली तेस्रो भएका छन् भने नृत्य प्रतियोगितामा भृकुटी माद्यामिक बिधालय प्रथम, जनता माद्यामिक बिधालय खग्रौली र तृतीय मोती माद्यामिक बिधालय मोतीनगर भएका छन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्राविधिक सहायक शंकर प्रसाद न्यौपानेले गरेका थिए ।










