शेयेर गर्नुहोस
टीकापुर १४ पुस /
टीकापुर नगरपालिका वडा नं. ७ स्थित सामुदायिक सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७३ लाख भन्द बढी खुद नाफा कमाउन सफल भएको छ ।
सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा गत वर्ष ७३ लाख २३ हजार चार सय २५ रुपैयाँ ४२ पैसा खुद नाफा कमाउन सफल भएको हो । दुई हजार दुई सय ७१ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड ७३ लाख ७१ हजार दुई सय पुगेको छ भने १४ करोड ८२ लाख ९६ हजार दुई सय ८२ रुपैयाँ ४२ पैसा निक्षेप संकलन गरेको छ । १५ करोड ८२ लाख ८६ हजार ९ सय ६१ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वार्षिक साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यका बालबालिकाबाट कक्षा १२ म उत्कृष्ट तीन जनालाई नगद सहित सम्मान गरेको छ । जसमा कर्णाली माद्यामिक बिधालय सत्तीमा अध्ययनरत अनु चौधरी, त्रिभुवन माद्यामिक बिधालय बटनपुरमा अध्ययनरत जगतबहादुर तारामी र सरस्वती माद्यामिक बिधालय भजनी नवलपुरकी शान्ति चौधरी रहेका छन् ।
असल कृषकको रुपमा विश्राम कुस्मी र रामप्रसाद चौधरीलाई सम्मान गरिएको छ । खेलतर्फ उत्कृष्ट खेलाडीको रुपमा सन्देश पाण्डेलाई सम्मान गरिएको छ । १२ जना जेष्ठ शेयर सदस्यलाई न्यानो कम्बल वितरण गरिएको सहकारीका व्यवस्थापक दिपक बैधले बताएका छन् । उनकाअनुसार शेयर सदस्यलाई १८ प्रतिशतका दरले शेयर लाभांश वितरण गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेतको अध्यक्षतामा भएको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सामुदायिक सहकारी ग्रामीण क्षेत्रका नागरिकहरूको बैंकको रुपमा स्थापित भएको बताएका छन् । “सहकारी संस्थाको कामसँगै अन्य विकासका कामहरू पनि गुणात्मक रुपमा अगाडि बढेका छन् ।” उनले भने, “हिजो चिन्ताको विषय थियो । आज त्यो चिन्ता हट्दै सम्भावनाका आधारहरू देखा पर्न थालेका छन् ।”
नगर प्रमुख थारुले भौतिक विकाससँगै आर्थिक विकासका गतिविधिमा पनि ध्यान दिनुपर्ने बताएका छन् । सहकारी उदार नीतिमा सहकारीले काम गर्नुपर्ने बताउँदै शेयर सदस्यको इमानदारीताले सहकारी सबल बन्ने उनको विश्वास छ । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले सहकारी क्षेत्रको लगानी उत्पादनका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका छन् । उनले टीकापुरमा रहेका ७५ सहकारी मध्ये हाल ५५ सहकारी मात्रै सञ्चालनको अवस्थामा रहेको बताए । वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले समाजिक क्षेत्रमा अग्रसर हुँदा एकताको खाचो आज पनि रहेको बताउँदै एकताबाट नै हरेक क्षेत्रको विकास सम्भव हुने बताए ।
कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष जंगबहादुर साउँद, निवर्तमान अध्यक्ष हरिकुमार कार्की, जनकल्याण सहकारी संस्थाका प्रबन्धक छविलाल जैशी, शेयर सदस्य नवराज ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।
कृष्णलाल धमालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचीव कृत ठकुल्लाले गरेका थिए ।










