शेयेर गर्नुहोस
टीकापुर ०३ फागुन /
जनश्रमदान मार्फत कैलालीको टीकापुरलाई गुलाफको शहर बनाउने अभियान प्रेम दिवसको अवसर पारेर गुलाबका बिरुवा रोप्ने काम सुरु गरिएको छ ।
फागुन २ गते आज प्रेम दिवसको अवसर पारेर टीकापुर नगरपालिकाले कार्यालय परिसरबाट गुलाब रोप्ने अभियान सुरु गरेको हो । अभियानको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले टीकापुरका हरेक चोकलाई गुलाब चोक नामकरण गरेर कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । हरेक नागरिकहरूले आफ्नो दायित्व सम्झेर अभियानमा सरिक हुन आग्रह गर्दै मन्त्री चौधरीले टीकापुरलाई पर्यटनको हबको रुपमा विकास गर्न गुलाब शहरको परिकल्पना निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
“प्रदेशबाट १० हजार भन्दा बढी गुलाब लगायतका विरुवा नगरपालिकालाई सहयोग हुनेछ । आवश्यकता अनुसार त्यो संख्या बढाउन पनि सकिएला ।” उहाँले भन्नुभयो, “अब नगरका सार्वजनिक चोक चौराह मात्रै नभई घरघरमा पनि गुलाब रोप्ने काम सुरु गर्नुपर्छ ।”
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले विकासका क्षेत्रमा जनश्रमदानले ठूलो योगदान दिने बताउँदै नगरलाई गुलाबको शहर बनाउन नागरिकहरूको उत्साहपुर्ण सहभागिता रहेको बताउनुभएको छ ।
उहाँले टीकापुरका परिकल्पनाकार स्वर्गीय खड्ग बहादुर सिंहले बनाएको योजनामा नागरिकहरुको श्रमदानबाट फुलबुट्टा भर्ने कामको थालनी भएको बताउनुभयो । “आफ्नो क्षेत्रलाई भिन्नै पहिचानका आधारमा चिनाउने हरेको सोच हुन्छ, त्यसैअनुसार हामीले टीकापुरलाई गुलाबको शहर बनाउने योजनामा काम थालेका हौं ।” उहाँले भन्नुभयो, “कुनै समयमा नगरपालिकाले गुलाबको महोत्सव आयोजना गर्ने योजना पनि बनाएको छ ।”
उद्योगी टीकाराम जैशीले सामाजिक सद्भावको प्रतिकका रुपमा गुलाब अभियानलाई टीकापुरले लिएको बताउनुभयो । “गुलाब शान्तिको प्रतीक हो । शान्तिसँग सद्भाव जोडिएको हुन्छ ।” उहाँ भन्नुहुन्छ, “बाह्य रुपमा आज पनि टीकापुरमा सद्भाव खल्बलिएको छ भन्ने भ्रम छ, त्यसलाई चिर्नको लागि पनि यो अभियान विशेष रहनेछ ।”
सिद्धार्थ ग्रुपमा प्रबन्धक निर्देशक कृष्ण न्यौपानेले हालसम्म गुलाब फुकको नामले कुनै क्षेत्र नचिनिएको बताउँदै नगरपालिकाको अभियान सार्थक बने पहिलो शहर टीकापुर गुलाबको नामले चिनिने बताउनुभएको छ । टीकापुर पर्यटकीय क्षेत्रमा मात्रै नभई व्यावसायिक क्षेत्रमा पनि निकै अब्बल रहेको उहाँको बुझाइ छ ।
अभियानमा बिधालयहरुले बजारको मुख्य सडकको जिम्मा लिएर गुलाब रोप्न सुरु गरेका छ । जहाँ निश्चित क्षेत्र बिधालयका नाममा विभाजन गरिएको छ । सो क्षेत्रमा गुलाब रोप्ने देखि त्यसको संरक्षण र सम्बर्द्धन गर्ने काम पनि बिधालय आफैले गर्नेछन् । केही व्यापारीहरुले पनि अभियानमा साथ दिएका छन् । गुलाब रोप्ने अभियानमा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रबर्द्धन केन्द्रले ५ लाख सहयोग गरेको छ ।
नगरपालिकाले आयोजना गरेको औपचारिक कार्यक्रमको सञ्चालन वडा नं. ४ का वडा अध्यक्ष लालबिर चौधरीले गरेका थिए । गुलाबको विरुवा नगरपालिकाले खरिद गरेको भए पनि रोप्ने व्यक्तिले प्रती बिरुवा एक सय ५० रुपैयाँ तिरेर गुलाबको बिरुवा रोपेका छन् ।










