जनश्रमदान भनेको गुलाब अभियानमा नगरपालिकाको लाखौं खर्च

शेयेर गर्नुहोस


टीकापुर १९ फागुन /
टीकापुर नगरपालिकाले जनश्रमदान मार्फत टीकापुरलाई गुलाबको शहर बनाउने भने पनि नगरपालिकाले आफै खर्च गर्न थालेको छ ।
खासगरी पहिलो चरणमा जमरा पुलदेखी बसपार्क सम्मको मुख्य सडकको दुबै किनारमा जनश्रमदान मार्फत गुलाब रोप्ने भने पनि त्यसमा नगरपालिकाले खर्च गर्न थालेको हो । एकातिर जनश्रमदानलाई जोड्ने र अर्कोतिर नगरपालिकाबाट खर्च गर्न थालेपछि नगरपालिकाको नियत माथी शंका गर्न थालिएको छ । खासगरी गुलाब रोप्ने अभियानमा नगरपालिकाले सबैभन्दा बढी इन्धनमा खर्च गर्न थालेको छ । स्रोतका अनुसार गुलाबको नाममा मापदण्ड भन्दा बढीको इन्धन खर्च भएएको छ् ।
सामुदायिक तथा संस्थागत बिधालय र केही संघसंस्थालाई नगरपालिकाले गुलाब रोप्ने अनि त्यसको संरक्षणका लागि जिम्मा पनि दिएको छ । क्षेत्र पनि निर्धारण गरिदिएको छ । त्यो निर्धारण गरिएको क्षेत्रमा केही बिधालयले गुलाब रोप्ने काम गरेका छन् । गुलाब रोप्ने काममा पनि बिधालयले झारा टार्ने काम मात्रै भएको भन्दा फरक नपर्ला । “सुरुमा जनश्रमदानमा निस्कदा हरेक नागरिकहरूमा निकै उत्साह देखिन्थ्यो, तर गुलाब रोप्दा त्यो उत्साह नभई झारा टार्ने काम जस्तो देखियो ।” स्थानीय प्रकाश टमट्टाले भने, “यसरी रोपिएका गुलाब बच्न सक्दैनन् । यसबाट अभियान सफल होला भन्नेमै शंका छ ।”
नगरपालिकाले ट्याक्टरको सहायतामा ट्याङ्करबाट सिँचाइ गर्दै आएको छ । गर्मी मौसम बढ्दै जाँदा एउटा ट्याङकरले सिँचाइ सुविधा सहज पुग्ने कुरामा पनि चुनौती थपेको छ । अहिले पनि कतिपय क्षेत्रमा सिँचाइ भएको छैन । गुलाब रोपेका बिधालयले पनि फर्केर हेरेको पाइदैन । अन्य जिम्मा लिएका बिधालयको क्षेत्रले गुलाबको बाटो कुरेर बसेका छन् । नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्न नसकेका कारण गुलाब अभियान सार्थक नबन्ने स्थानीयको बुझाइ छ ।
अरुलाई जिम्मेवारी दिएर जनश्रमदान मार्फत गुलाबको शहर बनाउने भनेको नगरपालिकाले गुलाबको सिँचाइको लागि थोपा सिँचाइ प्रणाली जोड्न थालेको छ । त्यसका लागि नगरपालिकाले १० लाख रुपैयाँ अन्य शिर्षकबाट रकमान्तर गरेको छ । उसो त सुदुरपश्चिम प्रदेशले पनि गुलाब अभियानलाई पाँच लाख सहयोग गरेको छ ।
त्यतिमात्र होइन त्यसको संरक्षण र जनशक्ति परिचालनका नाममा नगरपालिकाले १० लाख बजेट अन्य शिर्षकबाट रकमान्तर गरेको छ ।
एकातिर नगरपालिकाले गुलाबको शहर बनाउने अभियानमा नगरपालिकाले कुनै बजेट खर्च नगर्ने भनेका नगर प्रमुख रामलाल डगौरा थारुले त्यहीँ गुलाबका लागि बजेट रकमान्तर गरेर बजेट सुनिश्चित गर्दा बोली र व्यवहारमा फरक परेको कैयौंले भनेका छन् । गुलाब रोप्ने अभियानमा नगरपालिकाले प्रती बोट एक सय ५० रुपैयाँ पनि लिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *