शेयेर गर्नुहोस
टीकापुर २३ वैशाख /
नेकपा एमालेका पोलिटब्यूरो सदस्य भुमी अधिकार तथा श्रमिक संगठन नेपालकी केन्द्रिय अध्यक्ष शान्ता चौधरीले १० वर्षदेखि सुकुम्बासीले जुनसुकै हालतमा पनि जमिनको मालिक हुन पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नसक्ने बताएकी छन् ।
आजबाट टीकापुरमा आयोजना हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले वास्तविक भुमिहिन सुकुम्बासीलाई जग्गा पाउने अधिकार कसैले कुण्ठित गर्न नसक्ने बताएकी हुन । “कसैसँग एक धुर जग्गा छैन भने कसैसँग हजारौं बिघा जग्गा छ । वास्तविक जग्गाको मालिक हुनुपर्ने नागरिकहरू सुकुम्बासी भएर बसेका छन् ।” उनले भनिन्, “सरकारको नीति अनुसार १० वर्ष भोगचलन गरेको जग्गा भोगचलन गर्नेको नाममा हुने कानुन अनुसार त्यो व्यक्ति वास्तविक सुकुम्बासी भए उसको नाममा हुनुपर्छ ।”
पत्रकार सम्मेलनमा उनले देशभरीमा सबैभन्दा बढी सुकुम्बासी कैलालीमा रहेका कारण यस क्षेत्रका नागरिकहरूको आवाजलाई बुलन्द पार्नको लागि संगठनको केन्द्रिय अधिवेशन टीकापुरमा आयोजना गर्न लागिएको पनि बताइन् । “देशभरको तथ्यांक हेर्दा सबैभन्दा बढी मुक्तकमैया, सुकुम्बासी, अव्यवस्थित बसोबास गर्नेको संख्या कैलालीमा धेरै छ ।” उनले भनिन्, “उहाँहरुको जुन मुद्दा छ, त्यसैको हितमा निर्माण भएको संगठन भएका कारण पनि हामीले टीकापुर रोजेका हौं ।”
आज टीकापुरमा हुने दोस्रो केन्द्रिय अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको पनि उनले जानकारी दिईन ।
महाधिवेशनको एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिईन । उनले प्रधानमन्त्री ओलीकै चाहना अनुसार महाधिवेशन टीकापुरमा आयोजना गरेको बताईन । उनले टीकापुरमा भूमिको समस्या धेरै रहेकाले प्रधानमन्त्री ओलीले नै यस्तो चाहना राखेको बताउँदै समस्या समाधानका लागि महाधिवेशन सहयोगी बन्ने विश्वास व्यक्त गरिन ।
पत्रकार सम्मेलनमा उनले टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा गरेर बसेकाहरुलाई सोही जग्गा दिनुपर्ने बताईन । मान्छेको बसोबासको ठेगान नभएको बेला संस्थाका नाममा यतिधेरै जमिन राख्न नहुने उनको तर्क छ । उनले यसरी जमिन वितरण गर्दा भूमिहिन र सुकुम्बासीहरुको वास्तविक पहिचानको खोजी हुन जरुरी रहेको बताईन ।
महाधिवेशनमा ६४ जिल्लाका ६ सय बढी प्रतिनिधिहरु सहभागी हुने चौधरीले बर्ताइन । उनले प्रतिनिधिहरु टीकापुर पुग्न सुरु भैसकेको जानकारी दिईन । स्थानीयको सहयोगमा प्रतिनिधिहरुको आवास र भोजनको व्यवस्थापन भैरहेको बताईन । ‘समृद्ध नेपाल सुखी नेपालीका लागि वैज्ञानिक भूमिसुधार ः गैर संगठित श्रमिक तथा भूस्वामित्वबाट बञ्चितका लागि भूमि अधिकार’ भन्ने नाराका साथ सुरु हुने महाधिवेशन बैशाख २३ र २४ गतेसम्म चल्नेछ ।










