शेयेर गर्नुहोस
टीकापुर २४ वैशाख /
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् ।
कैलालीको टीकापुरमा सुरु भएको नेकपा एमाले सम्बद्ध भुमी अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोख्रेलले जनताको हक अधिकार स्थापित गर्ने देखि देशको समृद्धिका लागि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताएका हुन । “लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।” उनले भने, “अहिलेको परिवर्तनको प्रमुख जग लोकतन्त्र हो ।”
राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेको उहाँको भनाइ थियो । राजनीतिक स्थायित्व भएका देशले छोटो समयमै ठूलो प्रगति गरेको उल्लेख गर्दै महासचिव पोख्रेलले नेपालमा त्यसको खाँचो देखिएको बताए । “यहाँ स्थिर सरकार बन्न सकेको छैन । पाँच वर्षमा पाँचवटा भन्दा बढी सरकार बन्छन् । सयौं जना मन्त्री बन्नुहुन्छ ।” उनको भनाइ छ, “पाँच वर्ष एउटैको नेतृत्वमा सरकार बन्न सकेको भए हामीले देखेको समृद्धिका लागि धेरै टाढा सोच्नुपर्ने थिएन ।”
महाधिवेशन सम्बोधनका क्रममा महासचिव पोख्रेलले वर्तमान सरकार दुई ठुला दल मिलेर बनेको सरकार भएका कारण कसैले चाहेर सरकार नढल्ने पनि बताए । “सरकार बनेको दुई महिनादेखि ढल्छ, ढल्छ भनेर भ्रम सिर्जना गर्ने काम भैरहेको छ । त्यो भन्न थालेकै १० महिना भयो सरकार ढल्दैन ।” महासचिव पोख्रेलले भने, “देशलाई राजनीतिक अस्थिरताबाट माथी उठाउनकै लागि दुई ठुला दल मिलेका कारण सरकार परिवर्तन हुने स्थिति छैन ।” जनताको पक्षमा राम्रा काम गर्ने सरकारलाई लामो समयसम्म सरकारको नेतृत्वमा टिक्न नदिने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको पोख्रेलले नताएका छन् ।
दुई वर्ष भित्र सबै भिमी सम्बन्धि समस्या समाधान गर्ने गरी भुमी आयोगले काम गरिरहेको बताउँदै भुमी बिहिनलाई जग्गाको मालिक बनाउने काम वर्तमान सरकारले पूरा गर्ने उहाँको भनाई रहेको छ । “अहिले पनि कैयौं ठाउँमा भुमिहिनलाई जग्गाको लालपुर्जा वितरण भैरहेको छ । कैयौं क्षेत्रमा प्रक्रिया अगाडि बढाइएको छ ।” उनले भने, “दुई वर्ष भित्र सबै भुमिहिनहरु जग्गाको मालिक बन्न पाउनुहुन्छ ।”
पार्टीका केन्द्रिय सदस्य झपट बहादुर रावलले सबै नागरिकहरू जग्गाको मालिक बन्नुपर्छ भनेर विगत देखि आजसम्म भन्दै र बोल्दै आएको बताएका छन् । उनले अहिले पनि भुमी सम्बन्धि ऐन ल्याएर भुमीहिनलाई जग्गाको मालिक बनाउने काममा लागेको बताए । “सुखी नेपाली समृद्ध नेपालको परिकल्पनाका साथ जनतको पक्षमा एमालेले गर्दै आएको छ ।” उनले भने, “गाउँगाउँमा विकासको महसुस जनतालाई गराउने काममा एमालले गराउँदै आएको छ ।”
सुदुरपश्चिममा विश्वविद्यालय एमालेको पालमा बनेको पनि बताएका छन् । “अहिलेगेटा मेडिकल कलेजलाई दशरथ चन्द विश्वविद्यालय सरकारले बनाउने प्रक्रियामा अगाडि बढाएको छ ।” उनले भने, “एमाले एक मात्रै विकासवादी पार्टी हो, जसले देशको समृद्धिको बाटोलाई पछ्याएको छ ।” उनले टीकापुर सर्किट बनाएर विनियोजन भएको ८२ लाख बजेट अलपत्र परेको बताउँदै आयोजना नै अलपत्र परेको बताएका छन् । पार्टीले गरेका राम्रा कुराहरूको सन्देश जनताको माझमा लैजाने काममा कतै कमि भैरहेको रावलले बताए ।
नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले सुकुम्बासीलाई बसोबास गर्ने व्यवस्था पहिलो गर्नुपर्ने दायित्व राज्यको भएको बताउँदै त्यसको व्यवस्था एमाले सरकारले पूरा गर्ने बताएका छन् । भुमी समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजालले अबको ३० महिनाभित्र सबै भुमिहिनले जग्गा पाइसक्ने बताए । उनले टीकापुरमा देखिएको भुमी सम्बन्धि समस्यालाई छिट्टै समाधान गरेर लालपुर्जा वितरणको काम अगाडि बढाइने बताए ।
महाधिवेशनमा नेकपा एमालेका कैलाली जिल्ला सदस्य तथा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले देशभरीमै टीकापुरमा सुकुम्बासीको समस्या सबैभन्दा बढी जटिल रहेको बताउँदै त्यसको समाधानका लागि सबै गम्भीर बन्न आग्रह गरेका छन् । सोही अवसरमा नेकपा एमाले टीकापुर नगर कमिटील महासचिव पोख्रेल मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई टीकापुर क्षेत्रको विकासका सवालमा ज्ञापनपत्र बुझाइएको छ । टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा पार्टीका नगर इन्चार्ज तपेन्द्र बहादुर रावलले महासचिव पोख्रेल मार्फत १० बुदे ज्ञापनपत्र बुझाएका हुन ।
भोलिसम्म चल्ने संगठनको महाधिवेशनमा ६४ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ ।










