शेयेर गर्नुहोस
टीकापुर ०७ असार /
प्लास्टिकको झोला निरुत्साहित गर्ने उद्देश्यले टीकापुर नगरपालिका सरसफाइ शाखाले बजार क्षेत्रमा जनचेतनामूलक सडक नाटक प्रदर्शन सुरु गरेको छ ।
नगरपालिकाले आउने आर्थिक वर्षबाट नगर क्षेत्रमा प्लास्टिकका झोला प्रतिबन्ध लगाउने योजना अनुरुप जनचेतनामूलक सडक नाटक प्रदर्शन सुरु गरेको हो । सिर्जनशील युवा समाज नेपालको समन्वयमा नगरपालिका भित्र सञ्चालन हुने कृषि हाट बजार र टीकापुर बजार क्षेत्र लक्षित गरेर सडक नाटक सहित प्लास्टिक निरुत्साहितका लागि प्रतिबद्धतासँगै हस्ताक्षर अभियान सञ्चालन गरेको सिर्जनशील युवा समाज नेपालका सचिब राजेन्द्र विश्वकर्माले जानकारी गराएका छन् ।
नगरपालिकालाई सफा राख्नुपर्छ भन्ने उद्देश्यका साथ केही वर्ष पहिले समाजका लागि एक घण्टा अभियान समेत सञ्चालन गर्दै आएका गुडिमुन्टे जोडीका एक पात्र समेत रहेका उनले ढिलो भए पनि आफुहरुले लिएको एजेण्डामा नगरपालिका पुगेको दाबी गरे । “टीकापुरलाई सफा बनाउनुपर्छ र त्यसका लागि नागरिकहरू जिम्मेवार हुनुपर्छ भन्ने सोचका साथ समाजका लागि एक घण्टा सरसफाइ अभियान सञ्चालन गर्दै जाँदा हामीले प्लास्टिकलाई निरुत्साहित गर्नुपर्छ भन्ने सन्देश समेत दिँदै गएका थियौं ।” उनले भने, “आज नगरपालिकाले ऐन नै बनाएर प्लास्टिक निषेध गर्ने भएपछि नगरपालिकालाई सफा राख्नको लागि ठूलो सहयोग पुग्ने छ ।”
त्यस्तै सडक नाटक कार्यक्रममा भेटिएका टीकापुर नगरपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्यले आफ्नो कार्यकालको दोस्रो नगर सभामा आफुले प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेको भए पनि अहिले उक्त विषय कार्यान्वयनको चरणमा पुगेको देख्दा खुशी लागेको बताए । “प्लास्टिक मानव जीवनमा निकै खतरनाक हुन्छ । यसलाई हामीले बुझेका छैनौं ।” उनले भने, “नगरपालिकाले प्लास्टिक निषेध गर्न लागेको सुन्दा खुशी लाग्यो । यसलाई कडाइका साथ लागू गर्नुपर्छ ।”
नागरिकहरूलाई सन्देश प्रवाह गर्दै योजना कार्यान्वयन गर्नु रारो पक्ष रहेको टीकापुर कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष रंग प्रसाद अधिकारीले बताए । उनले नाटक मार्फत प्रवाह भएको सन्देश छिटो बुझ्न सकिने भएकाले यसलाई अझै व्यापक बनाउन आग्रह पनि गरे । “व्यापारीसँगै उपभोक्तालाई पनि सचेत गराउन सक्यो भने लिएको उद्देश्य पूरा गर्न सहज हुन्छ ।” उनले भने, “प्लास्टिक निषेध गर्नु राम्रो कुरा हो । प्लास्टिकको प्रयोगले मानव जीवनमा परेको असरको बारेमा अझै प्रष्ट र वृहत् कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।”
सडक नाटकबाट करिब १० हजार नागरिकहरूले नगरपालिकाको प्लास्टिकको झोला निषेध अभियानको बारेमा बुझ्ने र कार्यान्वयन गर्ने अनुमान गरिएको छ । साउन १ गतेबाट नगरपालिकालाई प्लास्टिकका झोला मुक्त बनाउने नगरपालिकाको योजनाअनुसार कृषि हाट बजार र बजार क्षेत्र लगायत १० वटा स्थानमा जनचेतनामूलक सडक नाटक सहितको प्रतिबद्धतासँगै हस्ताक्षर अभियान सञ्चालन भएको उक्त कार्यक्रम असार १० गतेसम्म सञ्चालन हुने छ ।










