शेयेर गर्नुहोस
टीकापुर ४ साउन /
टीकापुर उद्योग वाणिज्य संघले गत पुस २७ गतेबाट माघ ८ गतेसम्म सञ्चालन गरेको सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको आयव्यय अझै सार्वजनिक भएको छैन ।
महोत्सव सफलतापुर्बक सम्पन्न भएको संघका पदाधिकारीहरुले बताए पनि महोत्सवबाट भएको यथार्थ आयव्यय आर्थिक वर्ष सकिँदा पनि सार्वजनिक नभएको हो । २०८० को महोत्सव सम्पन्न भएको केही दिनमै महोत्सवको आयव्यय सार्वजनिक गरेको उद्योग वाणिज्य संघले यसपटक नगर्दा केही आशंकाहरु उत्पन्न पनि भएका छन् ।
२०८० को महोत्सवबाट संकलन भएको केही रकम संघले सामाजिक क्षेत्रमा लगाउने भन्दै टीकापुरका विभिन्न चोकमा सीसी टिभी क्यामरा जडान गरिएको थियो । २०८१ मा आयोजना गरिएको महोत्सवबाट संकलन भएको रकमले संघले कुनै सामाजिक कार्य गरेको अहिलेसम्म सार्वजनिक गरेको छैन । आर्थिक हिसाबले २०८० मा आयोजना भएको महोत्सवकै हाराहारी संकलन भएको भनिए पनि केही सरकारी निकायबाट आउने रकम समयमा नआएका कारण आयव्यय सार्वजनिक गर्न ढिलाई भएको महोत्सव मुल समिती संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।
“जस्तो टीकापुर नगरपालिका लगायत अन्य सहयोग गरेका निकायबाट आउने बजेट असार मसान्तमा आएका कारण आयव्यय सार्वजनिक गर्न नसकिएको हो ।” उनले भने, “अब आउनुपर्ने लगभग सबै पैसा आइसकेको छ । हिसाबकिताब सबै किलियर छ । चाहिएकोले संघबाट लिएर जानसक्छ ।” उनले २०८० को महोत्सवमा उठाउनुपर्ने पैसा नउठ्दै आयव्यय सार्वजनिक गरेको बताउँदै यसपटक त्यसो नगरेर सबै हिसाब आएपछि गर्ने भन्दा ढिलाइ भएको बताएका छन् ।
उसो त संघको वर्तमान कार्यसमितिको पदावधि सकिँदैछ । भदौमा हुने संघको चुनावी साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । बजारमा संघको कार्यशैली प्रती व्यापारीहरु सन्तुष्ट भने हुन सकेका छैनन् । व्यापारीको हकहितमा संघले काम गर्न नसकेको र राजनीति गर्ने थलोको रुपमा व्यापारीहरुको साझा परिणत हुँदै गएको गुनासो बढ्दै गएको छ ।










