गुलावमा सफल नभएपछि सयपत्री रोपिँदै

शेयेर गर्नुहोस


टीकापुर ०५ भदौ /
टीकापुर नगरपालिकाले जमरा पुलदेखी बसपार्क सम्मको छ लेन सडकको डिभाइडरमा गुलाव पछि सयपत्री फुल रोप्ने काम सुरु गरेको छ ।
नगरपालिकालाई गुलाव सिटी बनाउने उद्देश्यले नगर प्रमुख रामलाल डगौरा थारुको अगुवाइमा गएको फागुन २ गतेबाट गुलाव रोपिएको थियो भने अहिले दशै तिहार लक्षित गरेर सयपत्री फुलका विरुवा रोप्ने काम सुरु गरेको हो । गुलावबाट पुर्ण रुपमा असफल भएको नगरपालिकाले सयपत्री फुलबाट बजार रंगीन बनाउन खोजेको छ ।
नगरपालिका मार्फत केही कर्मचारी यतिबेला सयपत्री रोप्न व्यस्त छन् भने केही कर्मचारी झारपात उखेल्न । दशै र तिहारको समयमा बजार क्षेत्रलाई रंगिन बनाउने उद्देश्यका साथ नगरपालिकाले फुल रोप्ने काम गरेको बताएको छ ।
“यो सिजनमा गुलाव फुल्दैन । गुलाव नफुल्ने सिजनमा वैकल्पिक फुल लगाएर बजार क्षेत्रलाई रंगीन बनाउने योजनाअनुसार फुल रोप्ने काम भएको छ ।” नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भने, “दशै तिहारको समयमा झिलिमिली बजारसँगै सयपत्री फुलले झन सुन्दर बनाउने छ ।” उनले टीकापुर पार्कमा उन्नत जातको सयपत्रीका बेर्ना उत्पादन गरेर रोप्ने काम भएको बताए । तर नगरपालिकाले पार्कमा उत्पादन भएको सयपत्री नभई प्रती बोट १० रुपैयाँमा खरिद गरेर लगाउने काम गरिरहेको छ ।
नगरपालिकाले कृषि बिज्ञ कृष्ण प्रसाद न्यौपानेले उत्पादन गरेको बेर्ना खरिद गर्दै आएको छ । न्यौपानेका अनुसार नगरपालिकाले एक हजार पाँच सय भन्दा बढी बेर्ना खरिद गरेको छ । “सुरुमा ५० हजार बेर्ना उठाउने कुरा नगरपालिकाले गरेको थियो । अहिले भनेअनुसार बेर्ना उठाउन सकेको छैन ।” उनले भने, “अब भनेअनुसार बेर्ना नगरपालिकाले खरिद नगरे पनि खरिद भने गरिरहेको छ ।” न्यौपानेले तिहार लक्षित गरेर झण्डै ७५ हजार उन्नत जातको सयपत्री फुलको बेर्ना उत्पादन गरेका थिए । उनले अधिकांश बेर्ना भने बिक्री गरिसकेको पनि बताएका छन् ।
नगरपालिकाले गुलावको लागि एक रुपैयाँ खर्च नगर्ने भने पनि लाखौं रुपैयाँ खर्च गरिसकेको छ । जुन गुलावमा नगरपालिका पुर्ण असफल भैसकेको स्थानीय बताउँछन् ।स्थानीयले प्रती बोट एक सय ५० रुपैयाँमा खरिद गरेर लगाएका अधिकांश गुलावका बोट मरिसकेका छन् । अहिले नगरपालिकाले लगाएका गुलावका २० प्रतिशत बोट पनि जीवित छैनन् ।”के के नै होला जस्तो गरेर सुरु भएको गुलाव अभियानको लगानी बालुवामा पानी हालेजस्तो हुँदा पनि अझै नहुने कुरामा लाखौं खर्च नगरपालिकाले गरिरहेको छ ।” स्थानीय प्रताप रावल भन्छन्, “नगरपालिकाले आवश्यकताको आधारमा नभई मनमर्जी बजेट कार्यान्वयन गर्दै आएको छ । कुनै व्यक्तिलाई लाभ हुने गरी नगरपालिकाको बजेट कार्यान्वयन हुँदै छ ।”
उता पुष्प व्यवसायीहरुले नगरपालिकाको कार्यप्रती आपत्ति जनाएका छन् । उनीहरूले व्यावसायिक पुष्प खेती गर्ने किसानहरुलाई बजारीकरणमा सहयोग गर्नुको साटो असहज वातावरण सिर्जना गर्दै आएको आरोप लगाएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *