शेयेर गर्नुहोस
टीकापुर २६ मंसिर /
लागूऔषध दुर्व्यसनी, साइबर अपराध र बालविवाह सम्बन्धि घटनाहरु न्यूनीकरणका लागि सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जसका बालबालिका सहि बाटोमा लागेको छन्, त्यसैका अभिभावक अहिलेको सबैभन्दा खुशी अभिभावक रहेको बताएका छन् । “अहिले सबैभन्दा बढी त्यो दुखी छ, जसको बालबालिका लगत बाटोमा छन् ।” उनले भने, “जसका बालबालिका सहि बाटोमा छन्, तिनका अभिभावक आज निकै सुखी छन् ।”
कुनै क्षेत्रलाई सबल अनि सक्षम बनाउनका लागि एउटै व्यक्तिको प्रयासले नहुने बताउँदै सकारात्मक काममा सबैको समन्वय आवश्यक रहेको अध्यक्ष चौधरीले बताए । उनले २०८३ माघ मसान्तसम्म गाउँपालिकालाई बालमैत्री स्थानीय पालिका बनाउने योजनाका साथ काम भैरहेको बताए ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले युवाहरूलाई लक्षित गरेर यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा जोड दिए । उनले अन्य स्थानीय तहले पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउन सुझाव दिए । सिकेको कुरालाई व्यवहारमा उतार्नु सबैभन्दा महत्त्वपूर्ण हुने गाउँपालिकाका उपाध्यक्ष लालमती देवि कठरियाले जानकारी दिएकी छन् । उनले राम्रा नराम्रा कुराहरुको सिकाई अभिभावकबाट हुने गरेको बताउँदै अभिभावक जिम्मेवार बन्नुपर्ने बताइन् ।
नागरिकहरू विना बर्दीको प्रहरीको भुमिकामा रहनुपर्ने भन्दै उपाध्यक्ष कठरियाले प्रहरी प्रती मात्रै निर्भर नहुन आग्रह गरिन । गाउँमा बालविवाह दिनप्रतिदिन बढ्दै जानुको कारण त्यसमा खबरदारीमा कम भएको बताइन् । बालबालिकालाई असल संस्कार सिकाउन सके बालबालिका कहिल्यै गलत बाटोमा नजाने उपाध्यक्ष कठरियाले बताइन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक मुकेश न्यौपानेले वर्तमान स्थितिमा ईलाका प्रहरी कार्यालयले हलाएका १७ मुद्दामा १२ मुद्दा लागुऔषध दुर्व्यसनीको रहेको बताएका छन् । उनले बालबालिकालाई असल संस्कार एअ जिम्मेवार बनाउन घरमा अभिभावक तथा बिधालयमा शिक्षकको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् । प्रहरी निरीक्षक न्यौपानेका अनुसार लागुऔषधको मात्रा र प्रयोजन अनुसार तीन महिनादेखि जन्म कैदसम्मको सजाय, तीन हजारदेखि २५ लाख रुपैयाँ वा दुबै पनि हुनसक्ने छ ।
सामाजिक संजालको गलत प्रयोगका कारण बालविवाह निकै बढेको बताउँदै त्यसले समाजलाई झन अप्ठ्यारो पार्दै गएको प्रहरी निरीक्षक न्यौपानेले बताएका छन् । प्रहरी निरीक्षक न्यौपानेले सामाजिक संजालका कारण मायाजालमा पर्ने, विवाह बन्धनमा बाधिने अन्तिममा जीवनमा अभावको महसुस हुन थालेपछि बलात्कारको मुद्दा दर्ता गर्ने परिपाटी बढ्दै गएको बताएका छन् ।
नयाँ बिहानी पुनःस्थापना केन्द्रका सञ्चालक कल्पेश कुँवरले लागुऔषध दुर्व्यसनीले समाजलाई आक्रान्त बनाइसकेको बताउँदै समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन अपरिहार्य रहेको उल्लेख गरेका छन् । कुँवरले बिधालयमा अध्ययन गर्ने बिद्यार्थीको आचरणको पहिचान गरेर समयमै कुलतमा फस्नबाट बचाउनुपर्ने बताएका छन् ।
“लागुऔषध दुर्व्यसनीको स्थिति समुदायमा छर्लङ्ग छ । यसबाट बचाउनका लागि विद्यार्थीलाई बिधालयमा शिक्षक र घरमा अभिभावकले गहन निगरानी राख्न जरुरी छ ।” उनले भने, “अर्को बालबालिकाका अगाडि त्यता गलत नशाजन्य पदार्थको सेवन गर्ने कुरालाई पनि पुर्ण बन्द गरिनुपर्छ ।” बन्द कोठामा हुने कार्यक्रमले नतिजा प्रभावकारी नहुने उनको भनाई छ ।
आशाकिरण पुनःस्थापना केन्द्रका सञ्चालन दिपक शाहले २० वर्षसम्म लागुऔषधमा फसेको बताउँदै अहिले त्यसमा संलग्नलाई छुटकारा गराउने काम गर्दै आएको बताएका छन् । उनले दुर्व्यसनीले शारीरिक, मानसिक र सामाजिक रुपमा निकै समस्या निम्त्याएको बताउँदै लागुऔषधलाई नियन्त्रण गर्न नसकिए पनि न्यूनीकरण गर्न सकिने बताएका छन् ।
शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शंकर न्यौपानेले गरेका थिए ।










