शेयेर गर्नुहोस
टीकापुर ११ पुस /
बद्री कुन्ता मेमोरियल ट्रस्टले कैलालीमा १६ वर्ष मुनिका उमेर समुहको जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ट्रस्टले यहीँ पुस १८ गतेदेखि पुस २६ गतेसम्म धनगढीमा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । धनगढी उपमहानगरपालिका वडा नं. ७ स्थायी घर भएर विगत २५ वर्षदेखि स्पेनमा बस्दै आएका गोकर्ण जोशीले आफ्ना माता पिताको नाममा सञ्चालन गरेको उक्त बद्री कुन्ता मेमोरियल ट्रस्टले १३ स्थानीय तहबाट खेलाडीहरु सहभागी हुने गरी पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेका हुन ।
यतिबेला सोही प्रतियोगितालाई लक्षित गरेर स्थानीय तहमा खेलाडी छनोटको काम भैरहेको छ । १६ वर्षभन्दा कम उमेर समुहका खेलाडीहरुका लागि प्रतियोगिताले खेलाडी उत्पादनमा विशेष भुमिका खेल्ने ट्रस्टका संस्थापक जोशीले जानकारी दिएका छन् । “यो प्रतियोगिताले जिल्लामा सफल फुटबल टिम निर्माण गर्ने अपेक्षा गरिएको छ । त्यो टिम तयार गर्नका लागि पनि हामीले प्रतियोगिता आयोजना गरेका छौँ ।” उनले भने, “जुन टिमले पछिका दिनमा राष्ट्रिय स्तरमा हुने हरेक फुटबल प्रतियोगितामा सहभागिता जनाउन सकोस् ।”
प्रतियोगिताको विजेता टिमले दुई लाख नगद ट्रफी, मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले एक लाख नगद मेडल र प्रमाणपत्र प्राप्त गर्ने ट्रस्टका संस्थापक जोशीले जानकारी दिएका छन् । उनका अनुसार उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई जनही पाँचपाँच हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
विश्वबजारमा फुटबलको क्रेज धेरै भएका कारण ट्रस्टले फुटबल प्रतियोगिता सञ्चालन गर्ने जमर्को गरेको जोशीले बताए । “हाम्रो समाजमा अझै पनि छोरा बिग्रेपछि फुटबल खेल्छ भन्ने सोच आज पनि छ ।” उनले भने, “फुटबल बिग्रेकोले होइन अनुशासित व्यक्तिले खेल्ने खेल हो भन्ने सन्देश दिन पनि प्रतियोगिता आयोजना गरेका हौं ।” ट्रस्टले प्रतियोगितासँगै यतिबेला स्थानीय तहमा पुगेर फुटबल सामग्री वितरण गर्दै आएको छ । सोही क्रममा बिहिवार टीकापुरमा पनि ट्रस्टले फुटबल सामाग्री वितरण गरेको थियो ।
पछिल्लो समय जिल्लामा सुस्ताउन थालेको फुटबल विस्तारै पुनः जुरमुराउन थालेको कैलाली जिल्ला फुटबल संघका प्रशिक्षक शंकर तिरुवाले बताएका छन् । उनले अझै खेलकुदका गतिविधिलाई थप चलायमान बनाउँदै खेलाडीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । “कैलाली त्यसमा पनि टीकापुर फुटबलका लागि निकै सम्भावना भएको क्षेत्र हो । जुन यस क्षेत्रबाट राष्ट्रिय स्तरसम्म पुगेका खेलाडीले पुष्टि गरिसकेका छन् ।” उनले भने, “तर, त्यसमध्येका महत्त्वपूर्ण खेलाडीलाई हामील्व जोगाउन सकेनौं । उहाँहरु पलायन हुनुपर्ने बाध्यता भयो । अब त्यो परिस्थिति नआओस् भन्नेमा हामी लागेका छौँ ।”










