पाँच लाखसम्मका योजनाको सम्झौता वडाबाटै

शेयेर गर्नुहोस


टीकापुर १७ पुस /
टीकापुर नगरपालिकाले पाँच लाख रुपैयाँसम्मका वडास्तरका योजनाको सम्झौता अब वडा कार्यालयबाटै गर्ने भएको छ । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समुन धितालले ९ वटै वडा कार्यालयका सचिवहरुलाई वडास्तरका योजनाको सम्झौता गर्ने अधिकार प्रत्यायोजन गरेसँगै पाँच लाखसम्मका योजनाको सम्झौता वडा कार्यालयबाटै हुने भएको हो । 
प्रमुख प्रशासकीय अधिकृत धितालले वडा सचिवहरुलाई प्रचलित कानुन बमोजिम छिटो छरितो हुने गरी दैनिक रुपमा वडाबासीलाई सेवा प्रवाह सम्बन्धी पत्राचार लगायतका कार्य गर्न अधिकार प्रत्यायोजन गरेको बताएका छन् ।
‘आफ्‌नो वडाका लागि आर्थिक वर्ष २०८२/०८३ को नगर सभाबाट स्वीकृत पाँच लाख रुपैयाँसम्मका वडास्तरका योजनाहरुको प्राविधिकबाट प्रमाणित लागत अनुमानका आधारमा कार्यालयबाट तर्फबाट सम्झौता गर्नेगरी वडा सचिवलाई अधिकार प्रत्यायोजन गरिएको हो ।’ प्रमुख प्रशासकीय अधिकृत धितालले भने, ‘वडाका सेवाग्राहीहरु सम्झौताकै लागि पालिका धाइरहनु नपरोस् र सहज रुपमा सेवा प्रवाह प्राप्त गरुन् भन्नका लागि यो व्यवस्था गरेका हौं ।’
प्रमुख प्रशासकीय अधिकृत धितालले नागरिकहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनका लागि सम्झौताको अधिकार वडालाई प्रत्यायोजन गरेका हुन् । यसअघि वडास्तरका योजनाको सम्झौता गर्न समेत सेवाग्राहीले पालिका केन्द्रमै आउनु पर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *