शेयेर गर्नुहोस
टीकापुर १७ पुस/
जानकी गाउँपालिकाको गाउँसभा तथा १७ औं अधिवेशन बुधबारदेखि सुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा सुरु भएको १७ औं गाउँ सभा अधिवेशनले गाउँपालिकामा कार्यरत अस्थायी करार, ज्यालादारी तथा आंशिक करारमा कार्यरत कर्मचारीहरुको म्याद असारसम्म थप्ने निर्णय पारित गरेको छ । माघ १ गतेदेखि लागू हुनेगरी गाउँपालिकामा कार्यरत सबै कर्मचारीको समयावधि थप गर्ने निर्णय गरेको हो ।
त्यसैगरी कार्यपालिकाका निर्माणहरु पनि गाउँसभा अधिवेशनबाट पारित गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले पेश गरेको चालू आर्थिक वर्षका केही योजना संशोधनको निर्णय पनि सभाले पारित गरेको छ ।
गाउँपालिकाले जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ सर्वसम्मत गाउँसभाले पारित गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को संशोधित बजेट गाउँपालिका उपाध्यक्ष लालमती देवि कठरियाले प्रस्तुत गरेकी थिइन । उनले प्रस्तुत गरेको बजेटमा कुनै संशोधन भएको छैन । चालू आर्थिक वर्षमा लागि गाउँपालिकाले ९१ करोड ३७ लाख ७ हजारको बजेट हेरफेर भएको छैन ।
जसअनुसार संघीय सरकारको अनुदान तर्फ ६४ करोड १३ लाख, प्रदेश सरकार अनुदान तर्फ पाँच करोड ७३ लाख २५ हजार बजेट विनियोजन भएको थियो । त्यसैगरी राजश्व बाँडफाँडबाट १४ करोड ६३ लाख ७६ हजार चार सय ४३ रुपैयाँ , गाउँपालिकाको आन्तरिक स्रोत तथा गत वर्षको अल्या सहित ६ करोड ८७ लाख पाँच हजार पाँच सय ५७ रुपैयाँ गरी ९१ करोड ३७ लाख ७ हजार बजेट यथावत प्रस्तुत गरिएको छ ।
गाउँसभाको पहिलो बैठकमा प्रस्तुत भएका विषयहरुमा गाउँसभाका सदस्यहरुले सुझाव तथा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ अर्को गाउँसभाको बैठकमा दिइने अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
बलीराम चौधरी सेवासुविधामा जनप्रतिनिधि बीचमा विभेद नहुनुपर्ने बताए । अध्यक्ष चौधरीका अनुसार १७ औं गाउँसभाको दोस्रो बैठक पुस २० गते दिउँसो १ बजेका लागि बस्ने तय भएको छ ।









