शेयेर गर्नुहोस
झलनाथ खनाल, ०४ वैशाख /
टीकापुर नगरपालिका चालू आर्थिक वर्षमा आन्तरिक राजश्व संकलनको लक्ष्य नजिक पुगेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको ९ महिनामा लक्ष्यको ७ करोड भन्दा बढी राजश्व संकलन गर्दै लक्ष्य नजिक पुगेको हो । ८ करोड ५० लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको नगरपालिकाले चैत मसान्तसम्म ७ करोड तीन लाख १४ हजार दुई सय ७७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । जसमा सबैभन्दा बढी सम्पत्ति करबाट तीन करोड ५९ लाख ८ हजार ६६ रुपैयाँ उठाएको छ भने सबैभन्दा कम सरकारी सम्पत्तिको बिक्रीबाट १० हजार राजश्व संकलन गरेको छ ।
वहाल करबाट ५५ लाख १४ हजार दुई सय १५, वहाल विटौरी करबाट ६४ हजार ६ सय, व्यवसायले भुक्तानी गर्ने कर ४८ हजार ७ सय, सरकारी सम्पत्तिको वहालबाट प्राप्त १८ लाख ९० हजार ६ सय ४७ रुपैयाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट ३० लाख ३८ हजार एक सय ६० रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट ४२ हजार, प्रशासनिक सेवा शुल्कबाट २५ लाख ४३ हजार चार सय ४५ रुपैयाँ, नक्सा पासबाट २४ लाख ९३ हजार पाँच सय ८०, सिफारिस दस्तुरबाट ४३ लाख ३९ हजार सय सय ५१ रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी व्यक्तिगत घातना दर्ता दस्तुरबाट ९ लाख ६ हजार ६ सय, नाता प्रमाणित दस्तुरबाट ६ लाख ७८ हजार ९ सय ५०, अन्य दस्तुरबाट ९ लाख ५५ हजार एक सय ७८ रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १० लाख १८ हजार ८७ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट ६२ हजार दुई सय, अन्य राजश्व एक करोड ४६ लाख ५५ रुपैयाँ र व्यवसाय करबाट ८ लाख ९६ हजार ८ सय ४८ रुपैयाँ संकलन भएको राजश्व शाखाका प्रमुख नन्द बहादुर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार तिनै तहको सरकारलाई बाँडफाँड हुने राजश्व यसमा समावेश छैन । “हामी लक्ष्यको नजिक छौँ । तीन महिनमा लक्ष्य भेटाउन लगभग एक करोड राजश्व संकलन हुनुपर्ने देखिन्छ । उनले भने, “त्यो भन्दा बढी राजश्व संकलन हुन्छ भन्ने अपेक्षा हामीले गरेका छौँ ।” गत आर्थिक वर्षमा पनि नगरपालिकाले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको थियो ।
टीकापुर पार्कबाट झण्डै एक करोड राजश्व संकलन
नगरपालिकाको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको टीकापुर पार्कबाट झण्डै एक करोड राजश्व संकलन गरेको छ । चैत मसान्तसम्म नगरपालिकाले ९७ लाख ५६ हजार ९ सय ९० रुपैयाँ राजश्व टीकापुर पार्कबाट संकलन गरेको छ । नयाँ वर्षको दिन अर्थात वैशाख १ गते मात्रै सात लाख ७० हजार एक सय ६० रुपियाँ राजश्व उठेको छ । सो दिनमा १४ हजार ८ सय ३१ जनाले टीकापुर पार्क अवलोकन गरेका थिए ।
नयाँ वर्षको दिनमा गतवर्ष भन्दा यसवर्ष एक हजार एक सय ५२ जना कमले अवलोकन गरेको देखिन्छ । गतवर्ष १५ हजार ९ सय ८३ जनाले नयाँ वर्षको दिन पार्कको अवलोकन गरेको कार्यरत कर्मचारी विनोद चौधरी बताउँछन् । तर, गतवर्ष राजश्व भने चार लाख ७९ हजार चार सय ९० मात्रै संकलन भएको थियो । “गतवर्षसम्म पार्क प्रवेश शुल्क प्रतिव्यक्ति ३० थियो भने अहिले ५० पुगेको छ ।” चौधरीले भने, “नत्र संख्यात्मक रुपमा गतवर्षको तुलनामा यसपटक नयाँ वर्षको दिन पर्यटकको संख्या घटेको देखिन्छ ।”










