शेयेर गर्नुहोस
टीकापुर १७ वैशाख /
सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरू हटाउन निर्देशन दिएको हो । मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमणमा परेको सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्न र त्यस्ता जग्गा खाली गराउने विस्तृत योजना मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत कृष्ण देवकोटाद्वारा जारी पत्रमा जिल्लाबाट पठाइएका योजनाहरू मन्त्रालयले स्वीकृत गरेपछि अतिक्रमण हटाउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध र अन्य प्रशासनिक सहजीकरण गृह मन्त्रालयले गर्ने पत्रमा उल्लेख छ । मन्त्रालयले यसअघि २०८२ चैत २० गते पनि सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा परिपत्र गरेको स्मरण गराउँदै सोही कार्यलाई थप प्रभावकारी बनाउन सचिवस्तरको निर्णयबाट यो नयाँ निर्देशन जारी गरेको जानकारी दिएको छ ।
चैत २० गतेको निर्णयलाई आधार मान्दै अहिले देशका कैयौं स्थानमा सार्वजनिक जग्गाको अतिक्रमण हटाउने काम भैरहेको छ । त्यसैअनुसार टीकापुर नगरपालिकाले पनि सोमबारदेखि बजार क्षेत्रको अतिक्रमण हटाउन थालेको छ । बिहिवार जारी गरिएको पत्रले सुकुम्बासीको नाममा अतिक्रमण गरिएका जग्गा खाली गराउने आधार तयार भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला भरीका अतिक्रमित जग्गाको तथ्यांक तथा त्यसको अतिक्रमण हटाउन लाग्ने आवश्यक जनशक्ति तथा सुरक्षा व्यवस्थाको मागसँगै दशकौंदेखि अतिक्रमणमा रहेका जग्गा खाली हुने सम्भावना बढेको छ ।







