शेयेर गर्नुहोस
टीकापुर २१ वैशाख /
बढ्दै गएको लागुऔषध दुर्व्यसनिका घटनाले समाजमा चुनौती थप्दै गएको सरोकारवालाहरुले औल्याएका छन् ।
सामुदायिक सेवा केन्द्रको आयोजनामा लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले लागुऔषधका घटना दिनप्रतिदिन बढ्नुले समाजमा चुनौती थप्दै गएको औल्याएका हुन । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक गोविन्द चौधरीले बिधालयदेखि समुदाय स्तरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि घटनाहरु बढ्दै गएको बताएका छन् । उनका अनुसार अन्य घटना भन्दा लागुऔषधका घटना बढ्दै गएको देखिन्छ । अभिभावकको जिम्मेवारी, समुदायको भुमिका र बिधालय प्रशासन भुमिका भन्दा बाहिर गएको प्रहरी प्रशासनको बुझाइ छ ।
चालु आर्थिक वर्षको हालसम्म ६४ वटा मुद्दा लागुऔषधमा चलेको इलाका प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । गतवर्ष ७१ वटा मुद्दा लागुऔषधमा चलेको प्रहरीको तथ्यांक छ । केहिदिन यता सीमा क्षेत्रको कडाइका कारण लागुऔषध न्यूनीकरणमा सहयोग पुगेको छ । समाजसेवी मकर बहादुर केसीले सुधारगृहले मात्रै लागुऔषध नियन्त्रण गर्न सकिने हो कि ? बालबालिकालाई व्यवहारिक शिक्षा दिन पनि आवश्यक हुन्छ भन्दै प्रश्न गरेका छन् ।
नागरिक समाजका टीकापुर संयोजक भीमराम चपाईले बिधालयमा गएर सचेतना गरेर गर्ने कार्यक्रमले मात्रै सुधार हुने सम्भावना कम देखिएको उल्लेख गर्दै कार्यक्रम सञ्चालन गर्दै जाँदा उपलब्धि कमजोर बन्दै जाने हो भने त्यसमाथि प्रश्न उठ्नु स्वभाविक रहेको बताए । युवा भानुभक्त जैशीले दुर्व्यसनीमा फसेका व्यक्तिलाई अभिभावकसँगै राखेर अन्तरक्रिया गर्दा राम्रो हुने प्रतिक्रिया दिए । संस्थाका प्रतिनिधि प्रीङ्का तिमिल्सिनाले अभिभावकको निकै कमजोरी रहेको उल्लेख गर्दै कैयौं महिलाहरू पनि कारोबारमा फसेको दबताइन् ।
पुनःस्थापना केन्द्रमा उपचार गराइ रहेका लागुऔषध प्रयोगकर्ता कृष्ण बोहराले सुधार केन्द्रबाट फर्केर जाँदा अभिभावकले पुरानै कुरा सुनाएपछी तनाबमा पुगेर पुनः सुरु गर्ने कुराको स्मरण गरेका छन् ।
उपभोक्ता हित संरक्षण नेपाल टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले सामाजिक वातावरण राम्रो नभएको बताउँदै दिने सन्देश नकारात्मक भैरहेकोले शिक्षक र अभिभावकलाई सचेत गर्न सक्यो भने ७५ प्रतिशत सुधार विश्वास व्यक्त गरे ।
आशा किरण पुनःस्थापना केन्द्रका दिपक शाहले चुनौती आफुसँग भए पनि तसमाधानको विकल्प खोज्न नसकिएको बताएका छन् । सामुदायिक सेवा केन्द्रका पुर्व अध्यक्ष मोहननाथ योगीले सचेतनामुलक कार्यक्रम गरे पनि त्यसलाई न्यूनीकरण गर्न नसकिएको बताउँदै अर्को कुनै विकल्प खोज्नुपर्ने भन्दै कानुन कठोर बनाउन जरुरी औल्याएका छन् ।
शक्तिनगर शिविरका पञ्चराम डगौराले घुमुवा प्रहरीलाई आग्रह गर्दै जंगल भित्र अपरेसन चलाउने र भित्ता भत्केको घरको अनुगमन गर्दा सबै प्रमाण भेटिने बताएका छन् । ।
समाजसेवी महेश बुढाले भारतीय सीमा क्षेत्र पुग्ने कैयौंले ल्याएर आउने गरेको बताउँदै घाँस काट्न गएकी महिलादेखी तरबुजा खान पुगेको व्यक्ति लागुऔषध ल्याएर नेपाल आउने गरेको बताएका छन् । प्रयोगकर्तालाई कारबाही गरेर केही नहुने भन्दै बिक्रीवितरण गर्ने व्यक्तिलाई कारबाही गर्न सकेपछि मात्रै समाज बन्न सक्ने सरोकारवालाले औल्याएका छन् ।
केन्द्रका निवर्तमान अध्यक्ष हरि तिमिल्सिनाले कुराको उठान गर्न सक्यो र समाप्त गर्न सकिएन भने त्यो खतरनाक हुने भन्दै काम प्रचारात्मक हुन थाले पनि त्यसलाई नियन्त्रणमुखी बनाउन नसकिएको बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले
टोल विकास संस्थासँगै जोडेर बाल टोल विकास संस्था स्थापना गरेर युवालाई रचनात्मक काममा लगाउने बाटोमा नगरपालिकाले काम गरिरहेको छ । उनले वडा नं. १ ले मात्रै लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि हालसम्म १० लाख भन्दा बढी खर्च गरिसकेको उल्लेख गर्दै त्यसले धेरै सुधार भएको दाबी गरे । “हिजो कार्यक्रम नहुँदा कैयौं घटना सार्वजनिक समेत हुने गरेका थिएनन । आज घटना सार्वजनिक हुन थालेका छन् ।” वडा अध्यक्ष विकले भने, “नागरिकहरूमा चेतनाको विकास भएरै यस्तो भएको हो ।”
सामुदायिक सेवा केन्द्रका अध्यक्ष ताराप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









