बक्यौता नतिर्ने ठेकेदारको सेवा सुविधा रोकियो

शेयेर गर्नुहोस


भजनी ३० वैशाख /
कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवा सुविधा रोकेको छ ।
नगरपालिकाको आन्तरिक आयस्रोतको रुपमा रहेको तालतलैया ठेक्कामा सञ्चालन गरेर बक्यौता नतिर्ने ठेकेदारको सेवा सुविधा रोक्का गरेको हो । नगरपालिकाको वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताउनुभएको छ । उहाँका अनुसार व्यक्तिको हकमा स्वास्थ्य सेवालाई भने रोकिएको छैन । ठेक्का लिने व्यक्तिले बक्यौता नतिर्दा उसको तीन पुस्ते विवरण अनुसारको सेवा सुविधा रोकिएको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाई छ ।
२०७२ सालदेखि नगरपालिकाले तालतलैया माछा पालनका लागि ठेक्का दिँदै आएको थियो । ठेक्का लिने व्यक्ति तथा फार्मले समयमा सम्झौता अनुसारको रकम नतिर्दा नगरपालिकाको राजश्व निकै खुम्चिएको छ । नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोत तालतकैया हुन । यस नगरपालिकामा दर्जनौं तालतलैया छन् । जहाँ माछा पालनका लागि निकै उपयुक्त मानिन्छन् ।
अहिलेसम्म तालको बक्यौता पाँच करोड ६९ लाख ९४ हजार पुगेको छ । २७ फार्म वा व्यक्तिले नगरपालिकालाई तालतलैयाको बक्यौता बुझाउन बाँकी छ । सबैभन्दा बढी तालको बक्यौता तिर्न बाँकी कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालिका प्रेमबहादुर भुलको देखिएको छ । उहाँले एक करोड ९२ लाख चार हजार तीन सय ६० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । दुई करोड २९ लाख ६६ हजार एक सय ५९ रुपैयाँमा ठेक्का भएको घोर ताल र गिदिनिया तालको ३७ लाख ७१ हजार ७ सय ९९ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका राजश्व शाखा प्रमुख चिरञ्जीवी उपाध्यायले जानकारी दिनुभएको छ ।
तालको बक्यौता नतिर्ने जनप्रतिनिधि पनि छन् । वडा नं. ४ का वडा सदस्य तालबहादुर चौधरीले आफ्नो श्रीमतीको नाममा वडा नं. ४ नै रहेको लोटिहुवा सोरहवा ताल ठेक्कामा लिनुभएको थियो । दुई कार्यकाल वडा सदस्य निर्वाचित हुनुभएका तालबहादुरले तालको ठेक्का सम्झौता श्रीमतीको नाममा गराए पनि त्यसको सञ्चालन आफैले गर्दै आउनुभएको थियो । २७ लाख ४७ हजार दुई सय ९५ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त तालको अझै २२ लाख ९७ हजार दुई सय ९५ रुपैयाँ बक्यौता छ भने चार लाख ५० हजार मात्रै भुक्तानी भएको राजश्व शाखा प्रमुख उपाध्यायले बताउनुभयो । अहिले नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधाबाट वडा सदस्य चौधरी पनि बञ्चित हुनुभएको छ ।
“मेरो बक्यौता नतिर्ने मनस्थिति चाहिँ होइन । कहिले सामुदायिक वनको मुद्दा, कहिले नगरपालिकाको मुद्दाले ताल सञ्चालन गर्न नसकेका कारण केही छुट पाउने आशाले ढिलो भएको हो ।” तालबहादुरले भन्नुभयो, “अब त झन नतिरेर सुखै छैन । सरकारबाट प्राप्त हुने सबै सेवा सुविधा रोकिएका छन् । जेठ भित्र जसरी पनि तिर्छु ।” नगरपालिका र सामुदायिक वनको विवादले काम गर्न नपाउँदा तालबाट लिनुपर्ने आम्दानी लिन नसकेपछि समयमा बक्यौता तिर्न नसकिएको उहाँको भनाइ छ ।
नगर प्रमुख केवल चौधरीले बक्यौताको लागि पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि सुविधा रोक्नुपरेको बताउनुभयो । उहाँका अनुसार आफ्नो नाममा रहेको बक्यौता तिरेपछि भने उसको सेवा सुविधा फुकुवा हुने छ् । “कुनै सीप नलागेपछि अन्ततः बक्यौता उठाउनै पर्ने हुँदा सेवा सुविधा रोकेका हौं ।” उहाँ भन्नुहुन्छ, “यदि गर्दा पनि भएन भने फेरि यसपछिका प्रक्रियाहरु चरणबद्ध अगाडि बढाइने छन् ।”
झलनाथ खनाल : ९८६८७७०००३

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *