शेयेर गर्नुहोस
टीकापुर १२ जेठ /
सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा विधेयक टेबुल गरिएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’
र सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको हो । सामाजिक विकासमन्त्री मेघराज खड्काले ती विधेयकहरू टेबुल गरेका थिए । सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक ०८१ चैत ३ गते र बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक ०८२ जेठ २१ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।
यसअघि वैशाख १७ गते नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले संसद सचिवालयमा दर्ता भई लामो समयदेखि प्रक्रियामा नगएका यी दुई विधेयकलाई अविलम्ब सदनमा पेश गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको उक्त बैठकले विधेयकहरू रोकिँदा संसदको कार्य प्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै ध्यानाकर्षण गराएको थियो ।
टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामुखले संसदमा टेबुल नगर्दा स्थापनामै आशंका हुँदै आएको थियो । खासगरी टीकापुरमा स्थापना गरिने भनिएको विश्वविद्यालय पहाडी जिल्लामा स्थापना गरिनुपर्ने भन्दै सभामुखले अगाडि बढाएका थिएनन् । विधेयक पास नहुँदा विश्वविद्यालय स्थापनाको लागि विनियोजन हुँदै आएको बजेट फिर्ता गैरहेको थियो भने चालू आर्थिक वर्षमा पनि विश्वविद्यालयको नाममा पाँच करोड बजेट प्रदेशले विनियोजन गरेको छ ।









