तीन महिनामा गुम्यो नगार्जीको पद

शेयेर गर्नुहोस


टीकापुर १६ जेठ /
फागुन ९ गते टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका कार्यपालिका सदस्य रामबहादुर नगार्जीको पद गुमेको छ ।
नगर प्रमुख/ उपप्रमुख विहिन भएको अवस्थामा ९ जनाको बहुमत कार्यपालिका सदस्यको समर्थनमा कार्यवाहक नगर प्रमुख बनेका नगार्जीको तीन महिनामै कार्यवाहकको पद गुमेको हो । नेपाली काँग्रेस कार्यपालिका सदस्य बनेका नगार्जीलाई काँग्रेसकै अन्य कार्यपालिका सदस्य र केही अन्य दलका कार्यपालिका सदस्यले समर्थन गरेका थिए । अहिले नगार्जीलाई नै समर्थन गरेका काँग्रेसका कार्यपालिका सदस्यले विपक्षीमा बहुमत जुटाएर काँग्रेसबाटै निर्वाचित वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने गरी कार्यपालिकाको ६७ औं बैठकले निर्णय गरेको छ ।
कार्यपालिका सदस्य बलीराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउन १० जना कार्यपालिका सदस्यले साथ दिएका छन् । जसमा नगार्जीलाई साथ दिएका दिपक निसानी, मञ्जु विक, मोहन विक र बलीरामको विपक्षीमा देखिएका छन् । अहिले साविकको नागरिक उन्मुक्तिबाट वडा नं. ४ का वडा लालबीर चौधरी, वडा नं. ५ का बलबीर चौधरी, कैलाशपती चौधरी, रुपमती डगौरा, लबरी चौधरी, राजारानी चौधरीले बलीरामलाई समर्थन गरेका छन् । त्यसैगरी वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरी, वडा नं. ३ का वडा अध्यक्ष ऋषी विक, नेकपाका वडा नं. ९ का लौटन चौधरीले कार्यवाहक नगर प्रमुख चौधरीलाई साथ दिएका छन् ।
अहिलेसम्म कार्यवाहक नगर प्रमुखको पक्ष र विपक्षमा वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने र कार्यपालिका सदस्य सरस्वती तिरुवा कतै खुलेका छैनन् । सुरुवाती चरणमा नेकपा र नागरिक उन्मुक्ति पार्टीको एकतापछि ११ जना सहित कार्यपालिकामा स्पष्ट बहुमत भएपछि कार्यबाहक नगर प्रमुखको लबिङमा लागेका वडा अध्यक्ष न्यौपाने अहिले भने आकांक्षीमा देखिएका छैनन् । उनका अनुसार कार्यवाहक नगर प्रमुखको लडाई यहीँ एक बजेट ल्याउनका लागि भैरहेको छ ।
तत्कालीन कार्यवाहक नगर प्रमुख नगार्जीले आउने आर्थिक वर्षका लागि कार्यपालिका बैठक पेश गरेका महत्वाकांक्षी तिन करोड माथीका योजनाको विषयमा भएको विवाद नै प्रमुख कारण भएको स्रोतको दाबी छ । कार्यवाहकको जिम्मेवारीमा हुँदा निर्वाचित नगर प्रमुखको रबैयामा नगार्जी प्रस्तुत हुन थालेपछि उनलाई समर्थन गरेका कार्यपालिका सदस्यले फरक निर्णयमा पुगिएको बुझिएको छ भने अर्को केहिले प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसका उम्मेदवार जनकराज चौधरीलाई जिताउनका लागि नगार्जीलाई कार्यवाहकको जिम्मेवारीमा ल्याइएको तर चुनाव हारेपछि त्यहीँ समुहले पद खोसेको आरोप लाग्दै आएको छ ।
बहुमतको बलमा कार्यबाहक बनेर बहुमतबाटै पद गुमाएका नगार्जीले पदको भागबण्डा राम्रो नहुने बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन मार्फत उनले बहुमतको बलमा पदको हेरफेर हुँदा त्यसले समग्र पद्धति माथी नै प्रश्न उठाउने बताए । “हिजो ९ जनाको बहुमतबाट मलाई जिम्मेवारी दिइयो । आज १० जनाको बहुमतबाट अर्कोले जिम्मेवारी पाउँदा भोलि १२/१३ जनाको बहुमतबाट अर्कोमा जिम्मेवारी नजाला भन्न सकिँदैन ।” उनले भने, “यो राम्रो कुरा होइन । यसले पदीय मर्यादालाई समाप्त पर्ने काम गर्छ भने संस्था अनिर्णयको बन्दी बन्न सक्छ ।”
तीन महिनाको अवधिमा प्रमुख प्रशासकीय अधिकृतबाट आफू निकै हेपिएको बताउँदै नगार्जीले आफ्नो अनुपस्थितीमा चोर बाटोबाट कार्यपालिका बैठक बसी कार्यवाहकको जिम्मेवारी अर्कोलाई सुम्पेको आरोप लगाएका छन् । “मैले पाउने सेवा सुविधा प्रमुख प्रशासकीय अधिकृतले कुण्ठित गर्दै आउनुभयो । मलाई कतै सहयोग गर्नुभएन ।” उनले भने, “मैले बैठक नबोलाउन आग्रह गर्दा गर्दै पनि चोर बाटोबाट बैठक बोलाएर मेरो पद खोसियो ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *