शेयेर गर्नुहोस
टीकापुर १९ जेठ/
टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीले पदभार ग्रहण गरेका छन् ।
जेठ १३ गतेको कार्यपालिकाको बहुमत सदस्यहरुको बैठकको तत्कालीन कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीलाई हटाएर चौधरीलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेसँगै सोमबार नगरपालिकामा पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्दै कार्यवाहक नगर प्रमुख चौधरीले सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“म जिम्मेवारीमा रहँदासम्म सबैसँग समन्वय, सहकार्य गरेर सबैको भावनालाई समेट्दै काम गर्ने छु ।” उनले भने, “त्यसमा सबैले साथ र सहयोग गर्नुहुन्छ भन्ने विश्वास पनि लिएको छु ।” कार्यवाहक नगर प्रमुख चौधरीले हरेक वर्ग, समुदायसँग समान दृस्ठिकोणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरुलाई पनि समग्र क्षेत्रको विकासमा समन्वय र सहकार्यको माध्यमबाट अगाडि बढ्न आग्रह गरेका छन् ।
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले कर्मचारीलाई कानुनको परिधिभित्र रहेर काम गर्न निर्देशन दिँदै कार्यालय भित्र गुटबन्दी नगर्न आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत धितालले पहिलेको भन्दा नगरपालिका भित्र धेरै सुधारका कामहरू भैरहेको उल्लेख गर्दै त्यसमा कर्मचारीले राम्रो मिहेनत गरेको बताए । अझै आगामी दिनमा झन राम्रो गर्न निर्देशन दिए ।










