शेयेर गर्नुहोस
टीकापुर २३ जेठ /
टीकापुर नगरपालिकाको सहयोग तथा दारी ग्याङको समन्वयमा स्टिम एजुकेसन अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
विद्यार्थीहरूलाई आधुनिक प्रविधि, व्यावहारिक शिक्षा र वैज्ञानिक खोजतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । शनिबार कर्णाली माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम टीकापुर क्षेत्रका जम्मा ११ वटा सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई बढी प्रभावकारी र प्रविधिमैत्री बनाउन दुई फरक विधामा बिद्यार्थीहरुलाई प्रशिक्षण दिइँदै आएको दारी ग्याङका सरोज चपाईले बताएका छन् । सूचना प्रविधिमा निशान्त काफ्लेले विद्यार्थीहरूलाई अहिलेको युगको माग मानिएको सूचना प्रविधिका विविध पाटाहरू, वेब डेभलपमेन्ट र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग र यसका फाइदाहरूबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएका छन् ।
प्रशिक्षक अरुण लोहारले विद्यार्थीहरूलाई ब्रह्माण्डका रहस्य, खगोल विज्ञान र अन्तरिक्ष विज्ञानका रोचक एवं वैज्ञानिक विषयहरूमा बिद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छन् ।
लोहार अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाका विभिन्न सिटिजन साइन्स प्रोजेक्टहरूमा लामो समयदेखि स्वयंसेवकको रूपमा आबद्ध रहँदै आएका छन् ।
स्थानीय स्तरका सामुदायिक विद्यालयका विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास गर्न र उनीहरूलाई प्रविधिको संसारसँग जोड्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । नगरपालिकाको यो प्रयासलाई विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूले निकै उत्साहका साथ स्वागत गरेका छन् ।










