वडा नं. १ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २२ असार /
टीकापुर नगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०८२/०८३ को सेवा प्रवाह, कार्यक्रम र आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. १ का वडा अध्यक्ष मोहन विकको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचीव चक्रबहादुर रावलले चालू आर्थिक वर्षको सेवा प्रवाह र राजश्व लगायतको कार्यप्रगती प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यप्रगतिअनुसार चालू आर्थिक वर्षको असार १९ गतेसम्म एक हजार ७ सय ३१ व्यक्तिगत घटना दर्ताको काम भएको छ । ७ सय ८ जनाको जन्मदर्ता, तीन सय ५९ जनाको विवाह दर्ता, चार सय ७ बसाइँसराइ, २९ वटा सम्बन्ध विच्छेद, दुई सय २८ मृत्यु दर्ता दर्ता भएका छन् । त्यसैगरी सामाजिक सुरक्षा भत्ता तर्फ चार सय ३४ जना दर्ता भएका छन् । वडा कार्यालयबाट सेवा प्रवाह हुने सेवाहरुमा १५ हजार ७ सय ५५ जनाले सेवा लिएका छन् ।
वडाले असार १९ गतेसम्म चार करोड ३६ लाख ४० हजार पाँच सय २८ रुपैयाँ राजश्व संकलन गरेको छ । जसले नगरपालिकाले संकलन गर्ने कुल राजश्वको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । सम्पत्ति करमा मात्रै वडाले दुई करोड ९४ लाख ८१ हजार एक सय ३७ रुपैयाँ राजश्व संकलन गरेको छ । वडाका चालू आर्थिक वर्षमा ७२ योजना मध्ये ६६ योजनाको काम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा टीकापुर नगरपालिकाका पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलले आफ्नो कार्यकालमा सुशासनको जग बसाल्न हरेक वडामा सार्वजनिक सुनुवाइको कार्यक्रम गरे पनि आजसम्म वडा नं. १ मा आएर सिमित भएको बताएका छन् । उनले सार्वजनिक सुनुवाइमा जनताले जनप्रतिनिधिमा डर पैदा गराउने भन्दै सार्वजनिक सबै वडा र स्थानीय तहले गर्नुपर्ने बताएका छन् । उनले नगरपालिका बजेट खर्चमा बर्सेनि कम्जोर बन्दै गएको बताउँदै विनियोजन भएको आधा बजेट खर्च नहुँदा जनताको आधारभूत आवश्यकता पूरा हुन नसक्ने बताए । राजनीतिक मतभेदका कारण नगरपालिका संकटमा पर्दै गएको उनको भनाई थियो ।
कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका चक्र बटालाले वडाले उत्पादनको आधारमा किसानलाई अनुदान दिनुपर्ने उल्लेख गर्दै टीकापुर अस्पताल बाहिर सडकको पार्किङलाई यथाशीघ्र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेका लक्ष्मण थापाले जनताका आवाजलाई राज्यले सुझावको रुपमा लिएर कार्यान्वयन गर्नुपर्ने भन्दै विकासका नाममा व्यक्तिगत स्वार्थ बाझिन नहुने बताए । राप्रपाका डम्बर थापाले बजेटको आसमान वितरणले विकासको अनुभुति हुन नसकेको भन्दै प्राथमिकताको आधारमा बजेटको सुनिश्चितता गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीले विकास निर्माण, रोजगारी सिर्जना, लक्षित समुदायको जीविकोपार्जन लगायतका सार्वजनिक सरोकारका विषयमा वडा कार्यालयको ध्यानाकर्षण गराएका थिए । नागरिकहरूका प्रश्नहरूको जवाफ दिँदै वडा अध्यक्ष मोहन विकले घर निर्माणका लागि सम्झौता गर्दा वडा कार्यालयलाई रोहवरमा राख्न अनुरोध गर्दै वडाको स्रोतसाधनले भ्याएसम्म सबै क्षेत्रलाई समेट्ने गरी बजेटको वितरण गर्दैआएको बताएका छन् । वस्ती स्तरबाटै आएका योजनालाई वडाले प्राथमिकता दिँदै आएको बताउँदै नागरिकहरूका समस्या सम्बोधनका लागि वडा कार्यालय जिम्मेवार रहेको बताए ।
सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन एकिन्द्र तिमिल्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *