अनुदान नपाएपछि काठमाडौं पुगे किसान

शेयेर गर्नुहोस


गोपालजंग थापा
काठमाडौं, २३ असार /
सरकारले उपलब्ध गराउदै आएको उखु उत्पादनको अनुदान रकम नपाएको भन्दै कैलाली र बर्दियाका उखु किसानहरू काठमाडौं पुगेका छन् ।
किसानहरूले उखु खेतीबाट पाउनुपर्ने अनुदान नपाएको भन्दै सरकारसँग गुहार माग्न काठमाडौं पुगेका हुन । किसानहरूले सोमबार कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी आफूहरूले भोगिरहेका समस्या, अनुदान वितरणमा भएको ढिलाइ तथा उखु खेतीको भविष्यबारे गम्भीर बन्न आग्रह गरेको छ । भेटमा किसानहरूले सरकारले घोषणा गरेको उत्पादनमा आधारित अनुदान समयमै नपाउँदा आफूहरू आर्थिक संकटमा परेको बताएका छन् । उखु खेतीमा ठूलो लगानी गरे पनि समयमै अनुदान नपाउँदा ऋणको भार बढ्दै गएको र अनुदानमा ढिलासुस्ती गर्दा धेरै उखु उत्पादक किसानहरु चिन्तित भएका छन ।
नेपालमा हाल संचलनमा रहेका १४ वटा सुगर मिल मध्ये १३ वटा सुगर मिलको अनुदान रकम भुक्तानी भए पनि राजापुर सुगर एण्ड केमिकल्स ईण्डष्ट्रिज प्रा.लि.संग जोडिएका किसानहरु अनुदान पाउनबाट बन्चित भएको अगुवा कृषक धनसिंह साउँदले जानकारी दिएका छन् । राजापुर सुगर मीलमा ७ सय ७९ कृषकहरुले उत्पादन गरेको चार लाख ८ हजार चार सय ३८ दशमलव २९ क्वीन्टल उखु क्रसिंङ गरिएको थियो । उक्त परिमाण बराबरको अनुदान बापत पाउनु पर्ने दुई करोड ८५ लाख ९० हजार ६ सय ८० रुपैया भुक्तानी हुन सकेको छैन । पाउनु पर्ने अनुदान रकम बारेको विवरण चैत २४ गते नै कृषि मन्त्रालयमा पठाइसकेको भएता पनि भुक्तानी नपाएपछि किसानहरु निराश निराश हुनुपरेको साउँदले बताए ।
देशभरका उखु किसानहरुले सहजै अनुदान पाउदा बर्दिया र कैलालीका किसानलाई अनुदानबाट बन्चित गर्नुले आफूहरु राज्यबाटै ठगिएको महसुस भएको किसानहरुको गुनासो छ । किसान प्रतिनिधिहरूले बाँकी रहेको अनुदान रकम तत्काल उपलब्ध गराउन, अनुदान वितरण प्रक्रियालाई पारदर्शी र सरल बनाउन, उखु खेतीलाई प्रोत्साहन गर्ने दीर्घकालीन नीति ल्याउन तथा उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।
किसानहरुसँगको भेटमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानका मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनएकी छन् । उनले बाँकी रहेका अनुदानसम्बन्धी विषयहरूको तथ्यगत अध्ययन गरी कानुनी तथा प्रशासनिक प्रक्रिया अनुसार यथाशीघ्र समाधानको प्रयास गरिने बताइन् । मन्त्री चौधरीले उखु किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको आश्वासन समेत दिएकी छिन ।
भेटपछि किसानले सरकारबाट सकारात्मक आश्वासन प्राप्त भएको प्रतिक्रिया दिएका छन् । पश्चिम नेपालको प्रमुख नगदे बालीका रूपमा रहेको उखु खेती विशेषगरी कैलाली र बर्दियाका हजारौं किसानको आयआर्जनको मुख्य स्रोत हो । त्यति मात्रै नभई सुगर मिल सञ्चालनमा आएपछि यसक्षेत्रका किसानहरूमा उखु खेतीको आकर्षण पनि बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *