अनिर्णयको बन्दी बन्दै नगरपालिका

शेयेर गर्नुहोस


टीकापुर ०१ साउन /
टीकापुर नगरपालिका यतिबेला अनिर्णयको बन्दी जस्तै बनेको छ ।
कार्यवाहक नगर प्रमुखको विवादले नगरपालिका अनिर्णयको बन्दी बनेको हो । कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका रामबहादुर नगार्जीलाई कार्यपालिका सदस्यको बहुमतले हटाएर बलीरामलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएसँगै सुरु भएको विवाद नयाँ आर्थिक वर्ष सुरु हुँदासम्म पनि समाधान हुने स्थितिमा छैन । कार्यवाहक नगर प्रमुख नगार्जीले आफुलाई पदबाट हटाएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि उत्कर्षमा पुगेको विवादले नगरपालिकाले यसभन्दा पहिले गरेका र आगामी कामकारबाही प्रभावित बन्दै गएका छन् ।
सर्वोच्च अदालतले असार ८ गतेको लागि तोकेको पेशी सर्दै साउन १५ सम्म पुग्दा कस्तो फैसला आउला भन्ने चासो भन्दा पनि कहिले नगरपालिकाले निकास पाउला भन्नेतिर सबैको ध्यान केन्द्रित भएको छ । सर्वोच्चले जेठ १४ गतेको निर्णय कार्यान्वयन नगर्नु र यथास्थितिमा राख्नु भएपछि नगरपालिका फर्किएका नगार्जी काम बिहिन छन् । यथास्थितिको विषयमा नगार्जी सहितको एक पक्ष जेठ १४ गतेको निर्णय कार्यान्वयन नगर्नु भनेपछि फैसला नआउँदासम्म म कार्यवाहकको भुमिकामा कायमै रहेको दाबी गर्दै आएका छन् भने प्रमुख प्रशासकीय अधिकृत सहितको केही पक्ष यथास्थिति भन्दा दुबैजना नगार्जी र चौधरीलाई कामकाज नगर्न दिनु भनेको भनिरहेका छन् ।
यसमा पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलले निर्वाचित जनप्रतिनिधि माथी आक्रोश पोखेका छन् । उनले कुनै पनि राजनीतिक दलले आफ्ना जनप्रतिनिधिलाई नियन्त्रणमा राख्न नसकेको भन्दै भने “निर्वाचित हुँदा दल चाहिने, निर्वाचित भएपछि मनमा जे आयो, त्यहीँ गर्ने ? यो राम्रो कुरा होइन ।” उनले आफ्ना दलसँग आबद्ध जनप्रतिनिधिलाई लगाम लगाउन नसक्नु राजनीतिक दलका लागि ठुलो विडम्बना भएको बताएका छन् ।
त्यसैगरी समाजसेवी नवराज रावलले शासन व्यक्तिले गर्न खोजे बिग्रने भन्दै शासन विधीको हुनुपर्ने बताएका छन् । रावलले जनप्रतिनिधिको स्वार्थको लडाइले नगरपालिका भित्रका ८५ हजार नागरिकहरूले दुख पाइरहेको बताउँदै त्यसको नकारात्मक सन्देश बाहिर गएको बताएका छन् । “कसैलाई कसैप्रती चित्त बुझेन भने निर्णय फेर्दै जाने कानुन कतै छैन ।” उनले भने, “यो एक किसिमको अराजकता हो । अदालतले भनेको कुरालाई मान्नुपर्छ र नगरपालिकालाई निकास दिनुपर्छ ।”
नगरपालिकाका पुर्व कार्यपालिका सदस्य रमेश विश्वकर्माले दुईजनामा देखिएको दम्भले सर्वसाधारणलाई असर परेको बराएका छन् । उनले खासगरी सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य सहयोगमा असर परेको भन्दै तत्काल समाधान खोजिनुपर्ने बताए । “आज नगरपालिकाले उपलब्ध गराउँदै आएको स्वास्थ्य उपचार सहयोग प्रत्यक्ष प्रभावित भएको छ ।” उनले भने, “आपसको असमझदारीका कारण बाह्य नागरिकहरूले दुख पाउने कुरा राम्रो होइन ।”
आजबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । नगरपालिकाले जेष्ठ नगर सभा सदस्य जयराम थारुको अध्यक्षतामा बैठक बसालेर ल्याएको बजेट कार्यान्वयनमा पनि चुनौती देखिएको छ । विनियोजन भएको बजेट अहिलेसम्म वेबसाईटमा राखिएको छैन । बजेट कार्यान्वयनमा देखिएको अन्योलताले साउन १ गतेबाट सुरु हुने सामाजिक सुरक्षा भत्ता नवीकरण शिविरको सुचना सार्वजनिक हुन सकेको छैन । यहीँ स्थितिमा बजेट कार्यान्वयन हुन सकेन भने नगरपालिकामा झन ठुलो अन्योलता थपिने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *