शेयेर गर्नुहोस
टीकापुर १४ साउन/
टीकापुरमा आगामी मंसिर १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने एक सय ८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ तथा कोटीहोम का लागि मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।
ईश्वर प्रेमी चैतन्य सेवा आश्रम टीकापुरको आयोजनामा सञ्चालन हुने महायज्ञको संकल्प अनन्त विभूषित श्री एक हजार ८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्यजी महाराजले गरेका हुन । उनकै संयोजकत्वमा महायज्ञका मूल संयोजक समिती गठन गरिएको छ । गठित समितिअनुसार भैरव रावल महासचिव, दयाराम सन्ज्याल सचिव, रामबहादुर भण्डारी कोषाध्यक्ष तथा मकर केसी र नरबहादुर कडायत सह–कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी महायज्ञलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ। प्रचारप्रसार उपसमिति को संयोजकमा भुवनेश्वर अधिकारी, काठमाडौँ जनसम्पर्क उपसमितिको संयोजकमा चेतमान खत्री, लेखन तथा सम्पादन उपसमिति को संयोजकमा डा. योगेन्द्र बजगाई तथा भण्डारण व्यवस्थापन उपसमितिको संयोजकमा राजु बम चयन भएका छन् ।
आयोजक समितिले आवश्यकताअनुसार अन्य उपसमितिहरू पनि क्रमशः गठन गरिने जनाएको छ । धार्मिक, आध्यात्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञमा देशभरबाट श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।










