शेयेर गर्नुहोस
टीकापुर ०१ भदौ /
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मौलिक पर्वहरु सामाजिक सद्भाव, सांस्कृतिक विविधता,आपसी आत्मीयता र एकताको जीवन्त प्रतीक भएको बताएका छन ।
सुदूरपश्चिम प्रदेशको मौलिक एवं सांस्कृतिक पर्व ओल्के संक्रान्ति,थारु समुदायको मौलिक पर्व गुरही तथा नागपञ्चमीको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन । ‘हाम्रा मौलिक पर्वहरू केवल उत्सव र परम्पराका निरन्तरता मात्र होइनन्, यी हाम्रो सामाजिक सद्भाव,सांस्कृतिक विविधता, आपसी आत्मीयता र एकताको जीवन्त प्रतीक पनि हुन् ।” उनले भनेका छन् ।
मुख्यमन्त्री भट्टले पर्वहरूले समुदायबीचको प्रेम, भाइचारा, मेलमिलाप र सहअस्तित्वलाई अझ सुदृढ बनाउने बताउँदै समृद्ध सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन । मौलिक संस्कृति,परम्परा र पर्वहरूको संरक्षण एवं प्रवर्द्धन गर्दै समुन्नत,समृद्ध, समावेशी र आत्मनिर्भर सुदूरपश्चिम निर्माणमा सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै उनले यस्ता पर्वहरुले आपसी सद्भाव कायम गर्दै सबै जातजाति, भाषा, धर्म, संस्कृति र समुदायबीचको एकता अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन । उनले ओल्के संक्रान्ति, गुरही तथा नागपञ्चमीको अवसरमा सम्पूर्ण सुदूरपश्चिमबासीमा शुभकामनासमेत व्यक्त गरेका छन ।









