झुलुङ्गे पुल माथीको भिडभाड कम भएन

शेयेर गर्नुहोस


टीकापुर ०१ भदौ /
टीकापुरको दौलतपु रहुँदै बर्दिया राजापुर जोड्ने झुलुङ्गे पुलमा जोखिम दिनप्रतिदिन बढ्दै गएको छ ।
एक हजार दुई सय ४९ जना भार क्षमता भएको सो झुलुङ्गे पुलमा हजारौं मानिसहरू फोटो खिच्न, भिडियो बनाउन र कर्णाली नदीको अवलोकन गर्न एकैपटक जम्मा हुन थालेपछि पुलको जोखिम दिनप्रतिदिन बढ्दै गएको हो । खासगरी शनिबार र आइतबार पुलमा अस्वभाविक भिड हुने गरेको छ । दिउँसोको समयमा मोटरसाइकलमा सवार गर्ने नागरिकहरुलाई भिडका कारण ओहोरदोहोर गर्न कठिनाइ हुँदै आएको छ ।
अघिल्लो महिना पुलको पिलरमा क्र्याक आएपछि आवागमन रोकेर पुल निर्माण कम्पनीले मर्मत गरेको थियो । मर्मतपछि सुचारु भएको पुल निर्माण कम्पनी थानी निर्माण सेवाका प्रबन्धक विक्रम गिरीले पुलको भार क्षमतालाई मध्यनजर गर्दै भिडभाड गर्न आग्रह गरेका छन् । उनले क्षमता भन्दा बढी भार पुलमा हुँदा जोखिम निम्तिएको बताएका छन् । “खासगरी पुल भिडभाड नभई आवागलाई मध्यनजर राखेर निर्माण गरिएको हुन्छ ।” उनले भने, “अस्वभाविक भिडलाई रोक्नको लागि प्रशासनलाई हामी पुनः आग्रह गर्न चाहान्छौं ।”
त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुलाई फोटो र भिडियो भन्दा अरु कुनै मतलब छैन । त्यसैमा व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका फोटोग्राफरले पुल माथीको भिडलाई झन प्रोत्साहन गरेको जस्तो देखिएको छ । धेरै मानिसको भिडभाड हुँदा जोखिम बढ्छ भन्दा प्रायले पत्याउँदैनन । पत्याउनेले पनि अरु चड्दा केही हुन्न हामी चड्दा जोखिम बढ्छ भनेर प्रतिप्रश्न गर्ने गरेका छन् । उनीहरू मोटरसाइकल ओहोरदोहोर हुँदा किन मोटरसाइकल ल्याएको होला भनेर पनि प्रश्न गर्छन् । “मान्छेलाई हिड्नको लागि बनाएको पुलमा मोटरसाइकल ल्याउने होइन ।” एकजना महिलाले भनिन्, “यो त मान्छेको आवतजावतको लागि बनाएको होइन र ?”
पुलसँगै रहेको सार्वजनिक जग्गाको अतिक्रमण तिब्र बनेको छ । झुलुङ्गे पुल सञ्चालन भएपछि अहिले त्यहाँ दर्जनौं व्यावसायिक टहरा निर्माण भएका छन् । टहरा निर्माण गर्नेहरुले साना बुट्यानहरु मारेर टहरा निर्माण गर्दा अतिक्रमणको जोखिम बढेको छ । “टीकापुर नगरपालिका एकातिर सार्वजनिक जग्गा खाली गराउनका लागि उर्दी जारी गर्छ भने अर्कोतिर जथाभावी टहरा बन्दा मुखदर्शक भएर चुपचाप बस्छ ।” स्थानीय जोखनलाल थारुले भने, “हामीलाई यसभन्दा पहिले टीकापुर पार्क बाहिर व्यवसाय गर्दा लेखेट्ने नगरपालिकाले अहिलेसम्म यो भिडभाड र अतिक्रमण देखेको छैन ।”
पुलको दुईतीन सय मिटर आसपासको क्षेत्रमा त्रीपालको अस्थायी टहरा निर्माण गरेर विभिन्न व्यवसाय गर्दै आएका छन् । त्यो व्यवसायले पनि पुल प्रति नागरिकहरूको आकर्षण बढाएको छ । केही टहरामा अवैध मदिराको कारोबार समेत हुने गरेको एकजना सोही क्षेत्रका स्थानीयको भनाइ छ । “अहिले अस्थायी टहरा छन् । यसलाई अहिले नै नियन्त्रण गर्न सकिएन भने विस्तारै स्थायी बन्न समय लाग्ने छैन ।” उनले भने, “भोली स्थायी संरचना बनाएपछि उठाउन झन चुनौती हुनेछ ।” वन क्षेत्र मासेर व्यवसाय गर्ने मात्रै नभई ठाउँ ओगट्नेको संख्या पनि बढिरहेको छ ।
उसो त कुनै निकायसँग समन्वय नै नगरी पुलको तल त्यहीँ सार्वजनिक जग्गामा झुला, पिङ लगायतको रमाइलो मेलाको तयारी थालिएको छ । पछिल्लोपटक सो क्षेत्रमा रमाइलो मेला तथा झुलासमेत सञ्चालनमा आएपछि वन क्षेत्रको संरक्षण र व्यवसाय सञ्चालनको अनुमतिबारे प्रश्न उठेको उठेको छ । सो जङ्गल टीकापुर नगरपालिकाको नाममा लालपुर्जा भएको जङ्गल हो । टीकापुर नगरपालिकाले सो ठाउँमा निजी क्षेत्रलाई व्यवसाय सञ्चालन गर्न दिने प्रयोजनका लागि कुनै नीतिगत निर्णय हालसम्म गरेको छैन ।
अझै नगरपालिका क्षेत्रमा साना व्यवसाय सञ्चालन गर्न समेत व्यवसाय दर्ता अनिवार्य गराउँदै आएको नगरपालिकाले दौलतपुर घाट क्षेत्रमा भइरहेका यस्ता गतिविधिमा किन प्रभावकारी अनुगमन नसकेको भन्दै स्थानीयले प्रश्न गरेका छन् । “बजारमा एउटा फोटोकपी मेसिन सञ्चालन गर्नका लागि दर्ता गर भन्ने तर त्यहाँ त्यत्रो झुला सञ्चालन गर्दा समेत दर्ता गर्न नपर्ने कस्तो नियम हो ? स्थानीय खगेन्द्र विश्वकर्माले भने, ” “नियम त सबैतिर एउटै हुनुपर्ने हो । बजार क्षेत्र तिर सार्वजनिक जग्गाको अतिक्रमण हटाउने नगरपालिकाले आफ्नै स्वामित्वको जग्गा अतिक्रमणका लागि प्रोत्साहन गरेको जस्तो देखिएको छ । बढ्दै गएको अतिक्रमण हटेको खण्डमा पुलमा बढ्दै गएको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *