कैयौं चुनौतीका बीच हाजिर भइन बास्तोला

शेयेर गर्नुहोस


टीकापुर ०४ भदौ /
गएको असार ७ गते टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएकी ममता बास्तोला बुधबार नगरपालिकाका हाजिर भएकी छन् ।
टीकापुर नगरपालिकाको इतिहासमा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा बास्तोला हाजिर भएकी हुन । उनलाई नगरपालिकाका अन्य कर्मचारीहरुले एक कार्यक्रमका बीच नगरपालिकामा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले ८ महिना नगरपालिकामा बिताएर कालिकोट जिल्ला समन्वय समितिको कार्यालयमा सरुवा भएपछि उनको ठाउँमा बास्तोलाले आएकी छन् । बास्तोला नगरपालिकामा हाजिर भएपछि चालू आर्थिक वर्षका रोकिएका कामहरू सुचारु हुने स्थानीयको विश्वास छ । नगरपालिकाका नगर कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीको समेत सहभागिता रहेको उक्त स्वागत कार्यक्रममा विभिन्न शाखामा आबद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खासगरी नगरपालिकामा कार्यवाहक नगर प्रमुखको आधिकारिकताको विषयमा चलिरहेको विवादका बाबजुद ल्याएइको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृत बास्तोलाको भुमिका महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । यथाशीघ्र विनियोजन भएको बजेटलाई कार्यान्वयनमा ल्याएर नगरपालिका भित्रको आन्तरिक विवाद समाधान गर्न बास्तोलाले विशेष भुमिका निर्वाह गर्ने अपेक्षा स्थानीय नागरिकहरूले गरेका छन् । साथै कर्मचारी भित्रको आन्तरिक विवादलाई समाधान गर्दै कर्मचारी भित्रको आपसी द्वन्दले पनि निकास पाउने अपेक्षा छ ।
अहिले पनि नगरपालिकामा एउटा पक्षले रामबहादुर नगार्जीलाई कार्यवाहक नगरप्रमुखका रूपमा स्वीकार नगर्ने अडान लिइरहेको छ भने अर्कोतर्फ नगार्जी कार्यकक्षमा बसेर काम गरिरहेको अवस्था छ । नगरपालिकामा लाहो समयदेखि कार्यपालिकाको बैठकसमेत लामो बस्न सकेको छैन । कार्यपालिका बैठक नबसी नगर सभाको बहुमत सदस्यले नीति तथा कार्यक्रम सहित बजेट ल्याइएको छ ।
लामो समयदेखि बन्द रहेको मुटु, मिर्गौला तथा क्यान्सरलगायत गम्भीर रोगबाट पीडित नागरिकलाई सेवा–सुविधाका लागि आवश्यक सिफारिस गर्नुपर्ने अवस्थामा नगार्जीको अध्यक्षतामा बैठक बसेर सिफारिससमेत भइरहेको छ । कार्यवाहक नगरप्रमुख को हो भन्ने विषयमा प्रशासनिक अन्योल कायम रहँदा व्यवहारमा भने त्यहीँ पद अनुसारका केही काम नगार्जीको हस्ताक्षरबाट अघि बढिरहेको देखिन्छ ।
बुधबार नै सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार अझै नगरपालिकाको कार्यवाहक नगर प्रमुखको टुंगो अझै लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *