शेयेर गर्नुहोस
टीकापुर १३ भदौ /
टीकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टीकापुर उद्योग बाणिज्य संघले चाँसो व्यक्त गरेको छ ।
चालु आर्थिक वर्षको डेढ महिना पुग्नै लाग्दा वजेटको अख्तियारी नभई कामहरु सञ्चालन नभईरहेको अवस्थामा उद्योग बाणिज्य संघले चाँसो व्यक्त गरेको हो । उद्योग बाणिज्य संघले वर्तमान समस्या समाधानका विषयमा टीकापुर नगरपालिकाका वडाध्यक्ष र कार्यवाहक नगरप्रमुख रामबहादुर नर्गाजीलाई राखेर छलफल समेत गरेको छ ।
छलफलमा रामबहादुर नर्गाजीलाई नै कार्यवाहक मानेर जाने विषयमा आफूहरु एक मत भएका वडाध्यक्षहरुले बताएका छन् । वडाध्यक्षका तर्फबाट आफ्नो भनाई राख्दै वडा नम्बर ८ का वडाध्यक्ष दिर्घबहादुर ठकुल्लाले वर्तमान परिस्थितिलाई सुल्झाउनका लागि सबै एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । उनले जसरी पनि नगरपालिकालाई निकास दिनुपर्नेमा जोड दिए ।
तर कार्यवाहक नगरप्रमुख रामबहादुर नर्गाजीले आफूलाई वाइपास गरेर ल्याएको वजेटलाई आफुले अख्तियारी दिन नसक्ने, आफूले अख्तियारी दिनु पर्ने भए नगरसभा फेरी हुनु पर्ने अडान राखेपछि छलफल निष्कर्ष बिहीन भएको छ । उनले छलफल र समन्वय गरेर अगाडि बढ्न सकिने उल्लेख गर्दै प्रक्रिया पुर्याउनको लागि भए पनि पुनः नगर सभा हुनुपर्ने बताए ।
छलफलमा सहभागि उद्योग बाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले पनि वडाध्यक्षको भनाईहरु सकारात्मक आएको र जसरी हुन्छ नगरपालिकालाई निकास दिने विषयमा एक मत भएर जान सुझाव दिएका छन् । उनले नगरपालिकालाई अनिवार्यको बन्दी बनाउन नहुने बताए ।
टीकापुर नगरपालिकाको चालु आर्थिक वर्षको वजेटको अहिलेसम्म अख्तियारी पालिकाबाट नभएकाले नगरपालिकाका कुनै पनि काम हुन सकेका छैनन् । छलफलका वडा नं. ६ का वडाध्यक्ष वाहेक अन्य सबै ८ ओटा वडाध्यक्षहरु, टीकापुर उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकारहरुको सहभागिता रहेको थियो ।









