शेयेर गर्नुहोस
भजनी १५ भदौ /
नेपाल स्थित चिनको जनवादी गणतन्त्र राजदुतावासले कैलालीको भजनी नगरपालिका स्थित महुन्याल माद्यामिक बिधालय र कञ्चनपुरको लालझाँडी गाउँपालिकालाई आवश्यक सामाग्री सहयोग गरेको छ ।
महुन्याल माद्यामिक बिधालय भजनीलाई राजदुतावासले विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो भने लालझाँडी गाउँपालिकालाई स्वास्थ्य सम्बन्धि सामग्री हस्तान्तरण गरेको हो । महुन्याल माद्यामिक बिधालयलाई राजदुतावासले डेस्क बेञ्च, ह्वाइट बोर्ड, चारवटा स्मार्ट बोर्ड, स्कुल झोला, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको राजदुतावासका आयोजना इन्जिनियर शिवाङ दत्तले जानकारी दिएका छन् ।
“दूतावासको उज्यालो भविष्य कार्यक्रम अन्तर्गत बिधालयका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।” उनले भने, “यसले बिधालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्नुको साथै विद्यार्थीहरुको नियमित उपस्थितिलाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छौँ ।” उनले लालझाँडी गाउँपालिकालाई भने आरामदायी प्रसुतीका लागि वातावरण अनुकुल यन्त्र, जडानमा सहयोग गरिएको बताएका छन् ।
“यस सहयोगबाट सुत्केरी आमा तथा नवजात शिशुका लागि थप सहज र अनुकुल वातावरण सिर्जना हुनुका साथै प्रसुती सेवाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” इन्जिनियर दत्तले भने, “यो दुबै कार्यक्रम सुदुरपश्चिम प्रदेशमा नयाँ कार्यक्रम हो ।” सार्वजनिक शिक्षा र मातृ शिशु स्वास्थ्यका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई स्थानीय तहसम्म थप विस्तार गर्ने महत्त्वपूर्ण पहलका रुपमा लिइएको इन्जिनियर दत्तले जानकारी दिएका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भजनीमा शैक्षिक गुणस्तर दिनप्रतिदिन घट्दै गएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई शिक्षा प्रती प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । “अहिले बर्सेनि बिधालय छोड्ने दर बढिरहेको छ । युवा तथा बालबालिकामा दुर्व्यसनीको जोखिम बढ्दै गएको छ ।” उनले भने, “यो निकै ठूलो समस्या हो । यसमा सबै सरोकारवालाहरुले सोच्न जरुरी छ ।” उनले बिधालयलाई दूतावासले गरेको सहयोगले आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षामा सहयोग पुग्नुको साथै बिधालयको शिक्षालाई गुणस्तरीय बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे । नगर प्रमुख चौधरीले जिल्लाकै सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भएकोले पनि आगामी दिनमा सहयोगको अपेक्षा गरेका छन् ।
त्यसैगरी लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिकाले स्वास्थ्य क्षेत्र सबै नागरिकको पहुँचमा हुने गरी काम गर्दै आएको बताउँदै त्यसलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन थप मद्दत मिलेको बताएका छन् । “हामीले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । १० शय्याको अस्पताल सञ्चालनमा छ ।” उनले भने, “दुई वर्षदेखि निरन्तर सुदुरपश्चिममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत हुँदै आएका छौँ ।” अध्यक्ष रानाले दूतावासले गरेको सहयोगले विशेषगरी सुत्केरी आमा र नवजात शिशु लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् ।
महुन्याल माद्यामिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले आफुहरुले समितिको नेतृत्वमा आउँदा बिधालयमा धेरै राम्रा कामहरू भएको बताएका छन् । उनले चीनिया दूतावासलाई आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्दै अभिभावक विहिन बालबालिकाको छात्रवास निर्माणका लागि सहयोगको अपिल गरे । “यहाँ थुप्रै अभिभावक विहिन बालबालिका अध्ययन गर्दै आउनु भएको छ ।” उनले भने, “उनीहरूको गुणस्तरीय शिक्षाको लागि छात्रावास भवन निर्माणमा सहयोग भएको भए धेरै आभारी हुन्थ्यौ ।”
कार्यक्रममा दूतावासबाट सन्ध्या बज्राचार्य र जिबेश गुरुङको उपस्थिति रहेको थियो । बिधालयका प्रधानाध्यापक बिद्या प्रसाद भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक डम्बर मिश्रले गरेका थिए ।











