शेयेर गर्नुहोस
भजनी २१ कार्तिक /
प्रातःस्मरणीय पिता स्वर्गीय तोयनाथ जोशीको पुण्यस्मृतिमा पाण्डव फाउन्डेसन, भजनीद्वारा आयोजित १४औँ रक्तदान कार्यक्रम भजनीमा सम्पन्न भएको छ ।
कार्यक्रममा दुई जना महिलासहित विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए । उनीहरूबाट जम्मा २५ पिन्ट रगत सङ्कलन भएको छ । कार्यक्रमको सुरुवात निर्माण व्यवसायी सङ्घ कैलालीका सदस्य युवराज चौधरीले रक्तदान गरेर गरेका थिए । त्यसैगरी भजनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दुर्गा पुनले पनि रक्तदान गरेका थिए । फाउन्डेसनका अध्यक्ष टंक प्रसाद जोशीले आज आफ्नो जीवनको ६४औँ पटक रक्तदान गरे ।
कार्यक्रममा रक्तदानप्रति उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग रक्तसञ्चार कार्यालय, टीकापुरले गरेको थियो। यसैगरी, स्वर्गीय पिताको स्मृतिमा आयोजित उक्त कार्यक्रमकै अवसरमा पाण्डव फाउन्डेसनका तर्फबाट गौशालालाई एक ट्रली परालसमेत दान गरिएको छ ।
फाउन्डेसनले कार्यक्रम सफल बनाउन रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरू र प्राविधिक सहयोग प्रदान गर्ने रक्तसञ्चार कार्यालय टीकापुरप्रति आभार व्यक्त गरेको छ ।









