शेयेर गर्नुहोस
टीकापुर १९ कार्तिक /
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीसँग प्रतिनिधिसभा सदस्य उर्मिला थपलिया, नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिका, धादिङ नगर प्रमुख भीमप्रसाद ढुंगाना, ज्वालामुखी गाउँपालिका, धादिङका अध्यक्ष यमनाथ दनै लगायतको टोलीले भेटवार्ता गरेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा कार्यसम्पादन मूल्यांकनमा देशका सबै स्थानीय तहहरूमध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल नीलकण्ठ नगरपालिकाका नगर प्रमुख ढुंगानाले नगरपालिकामा भएका विभिन्न असल अभ्यासहरूका सम्बन्धमा अनुभव तथा विचार आदानप्रदान भएको थियो । विशेष गरी नीलकण्ठ नगरपालिकाले नगरवासीहरूलाई प्रत्यक्ष आयआर्जनसँग जोड्दै उद्यमी बनाउनका लागि अपनाएका रणनीतिहरू अत्यन्तै अनुकरणीय र प्रभावकारी देखिएका छन् ।
टीकापुर नगरपालिकाले पनि टोल विकास संस्थाका सदस्यहरूलाई आयआर्जन र उद्यमशीलतासँग जोड्ने लक्ष्य राखेको कार्यवाहक नगर प्रमुख नगार्जीले जानकारी दिएका थिए । नगरपालिका संघका अध्यक्ष ढुंगानाज्यूले कार्यविधि निर्माण, वित्तीय पहुँचका लागि बैंकहरूसँग सहजीकरण गर्ने लगायतका विषयमा टीकापुर नगरपालिकालाई आवश्यक परेको खण्डमा नेपाल नगरपालिका संघको तर्फबाट पूर्ण समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









