शेयेर गर्नुहोस
टीकापुर १९ कार्तिक /
टीकापुर साहित्य समाजको चौथो साधारणसभा बुधबार सम्पन्न भएको छ ।
साधारण सभामा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नागार्जीले टीकापुरलाई चिनाउने र यसको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने दायित्व यहाँका सबै नागरिकको रहेको बताएका छन् । उनले कुनै पनि ठाउँको पहिचान भौतिक विकासले मात्रै नभई त्यहाँको भाषा, साहित्य, कला, संस्कृति र मौलिकताले समेत स्थापित गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगार्जीले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै समाजका गतिविधि, इतिहास, संस्कृति र जनजीवनलाई साहित्यका माध्यमबाट संरक्षण तथा प्रचारप्रसार गर्न सकिने धारणा व्यक्त गरेका छन् ।
टीकापुरको साहित्यिक, सांस्कृतिक तथा बौद्धिक पहिचानलाई थप बलियो बनाउन साहित्यकार, स्रष्टा, बुद्धिजीवी तथा सरोकारवाला सबैको सक्रियता आवश्यक रहेको उनले बताएका छन् । कार्यवाहक नगर प्रमुख नगार्जीले स्थानीय साहित्य र सिर्जनालाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई पठन संस्कृति र सिर्जनात्मक गतिविधिमा जोड्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक डा. डविन्द्रबहादुर रावल, नेपाली काँग्रेसका नगर सभापति झपट बुढा तथा वीरेन्द्र विद्यामन्दिरका शिक्षक डा. योगेन्द्र बजगाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष महेश विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ईश्वर साउँदले गरेका थिए भने स्वागत मन्तव्य समाजका सदस्य रंगप्रसाद अधिकारीले गरेका थिए ।








