अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

शेयेर गर्नुहोस

टीकापुर ३१ वैशाख /
कैलालीको टीकापुर नगरपालिका अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व निर्वाह गर्न थालेको छ । नगरपालिका भित्र स्थायी बसोबास गर्दै आएका अनाथ तथा असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताहरुको पहुँचमा ल्याएर त्यस्ता बालबालिकाको संरक्षण गर्दै अभिभावकत्व निर्वाह गर्न थालेको हो । २०८१ सालमा अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा आएसँगै १७ जना बालबालिकाको अभिभावकत्व नगरपालिकाले निर्वाह गर्दै आएको छ ।
गत भदौबाट नगरपालिकाको वडा नं. १ स्थित सरस्वती माद्यामिक बिधालयमा त्यस्ता बालबालिकाहरुलाई आवास सहितको व्यवस्थापन गरेर राखिएको छ । त्यहाँ कक्षा १ देखी ९ सम्म अध्ययन गर्दै आएका अनाथ तथा असहाय बालबालिकाले आश्रय बिधालयमै लिएर अध्ययन गरिरहेका छन् । कार्यविधि अनुसार नगरपालिकाले एक विद्यार्थी बराबर वार्षिक ६० हजार रुपैयाँ खर्च गर्दै आएको छ । बालबालिकाले अति आवश्यक सामाग्री खरिदका लागि प्रती बालबालिका पाँच सय रुपैयाँका दरले वार्षीक ६ हजार रुपैयाँ नगद नै प्राप्त गर्ने गरेका छन् ।
“यहाँ घरायसी वातावरणमा अभिभावकको अभाव अनुभुती नहुने गरी हामीले बालबालिकाको हेरचाह गर्दै आएका छौँ ।” बिधालयका प्रधानाध्यापक खगेन्द्र बहादुर घर्तीले भन्नुभयो, “उहाँहरुलाई आवश्यकता अनुसारको सुविधा प्रदान भैरहेको छ । शिक्षामा अझै बढी ध्यान दिइएको छ ।” उहाँका अनुसार बालबालिकाको सबै आवश्यक व्यवस्थापनको जिम्मा बिद्यालय प्रशासनले नै लिएको छ । नगरपालिकाले एकमुष्ट विद्यार्थी संख्याको आधारमा बिधालयलाई बजेट भुक्तानी गर्दै आएको छ । त्यहीँ रकम बिधालयले मापदण्डअनुसार खर्च गर्दै आएको प्रधानाध्यापक घर्तीले बताउनुभयो ।
अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालनमा आएको धेरै समय नभएका कारणले पनि बालबालिका कम आएको हुनसक्ने अनुमान गरिएको छ । “केन्द्र सञ्चालनमा आएको एक वर्ष भएको छैन ।” उहाँ भन्नुहुन्छ, “विद्यार्थीहरुको संख्या बढ्ने छ । अहिले धेरैलाई थाहा नभएर पनि कम भएको हुनसक्छ ।” चालू आर्थिक वर्षमा नगरपालिकाले केन्द्रको लागि २० लाख बजेट विनियोजन गरेको थियो ।
अभिभावक बिहिन बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म जोड्ने उद्देश्यले बालबालिका संरक्षण केन्द्र सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताउनुभएको छ । “आर्थिक अभाव भएका अभिभावकका बालबालिकाहरु शिक्षाबाट बञ्चित नभए पनि अभिभावक नै नहुँदा कैयौं बालबालिका बिधालय बाहिर छन् ।” उहाँले भन्नुभयो, “बिधालय बाहिर भएका सहारा खोजिरहेको बालबालिकाहरुको अभिभावक नगरपालिका भएर काम गर्न सुरु गरिएको हो ।”
झलनाथ खनाल : ९८६८७७०००३

Leave a Reply

Your email address will not be published. Required fields are marked *