एक महिना अगाडि नै राजश्वको लक्ष्य पूरा

शेयेर गर्नुहोस


टीकापुर ०७ असार /
टीकापुर नगरपालिकाले एक महिना अगाडि नै राजश्वको लक्ष्य पूरा गरेको छ ।
चालू आर्थिक वर्षमा ८ करोड ५० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो । नगरपालिकाले ११ महिनामा ८ करोड ६९ लाख २७ हजार ६ सय ९० रुपैयाँ राजश्व संकलन गरेको राजश्व शाखा प्रमुख नन्द केसीले जानकारी दिनुभएको छ ।
नगरपालिकाको संकलन भएको राजश्वको आधा हिस्सा सम्पत्ति कर रहेको छ । सम्पत्ति करबाट चार करोड १२ लाख ३९ हजार पाँच सय २० रुपैयाँ राजश्व संकलन भएको छ भने पर्यटन शुल्कबाट एक करोड ३२ लाख दुई हजार ८ सय ४० रुपैयाँ संकलन गरेको छ । “पर्यटन शुल्क टीकापुर पार्कको हो । पार्क अवलोकन गर्न आएका पर्यटकहरुबाट संकलन भएको यो अहिलेसम्मकै ठूलो रकम हो ।” उनले भने, “यसवर्ष पार्क प्रवेश शुल्क वृद्धि भएका कारण यति राजश्व पर्यटन शुल्कबाट संकलन भएको हो ।”
नगरपालिकाले २० वटा शिर्षकमा राजश्व संकलन गर्दै आएको छ । सरकारी सम्पत्तिको बहालबाट प्राप्त हुने आय भने निकै घटेको छ । नगरपालिकासँग सपिङ्ग कम्प्लेक्स भवनबाट मासिक लाखौं भाडा वापतको रकम संकलन हुनुपर्ने हो । तर, जेठ महिनासम्म २३ लाख २६ हजार ६ सय ६१ रुपैयाँ मात्रै संकलन भएको छ । जहाँ अहिलेसम्म झण्डै तीन करोड बक्यौता बाँकी छ । व्यापारी र नगरपालिका बीच भाडाको विषयमा चलिरहेको द्वन्दले व्यापारीले भाडा तिर्न छोडेका छन् । उसो त लामो समयदेखि सम्झौता अवधी सकिएका व्यापारीहरुसँग न नगरपालिकाले आफै तिर्ने भनेर सकारेको बक्यौता उठाउन सकेको छ, न नयाँ सम्झौता नै गर्न । अहिले अधिकांश व्यापारी सम्झौता बिना नै सपिङ्ग कम्प्लेक्सको सटरमा बसिरहेका छन् ।
नगरपालिकामा आन्तरिक राजश्वका अन्य थुप्रै स्रोत भए पनि त्यसको परिचालन हुन नसकेको स्थानीयको गुनासो छ । “बर्सेनि करको दर बढाएर राजश्वको लक्ष्य हासिल गर्नुभन्दा करका दायरा बढाउन नगरपालिका अग्रसर हुनुपर्छ ।” स्थानीय मनोज रावलले भने, “अहिले पनि हामी राजश्व तिर्न तयार छौँ, हाम्रो दर्ता र नवीकरण प्रक्रिया नगरपालिकाले सुरु गर्नुपर्ने भनेर एक हजार भन्दा बढी अटो रिक्सा प्रतीक्षामा छन् । तिनको व्यवस्थापन गर्न सके अझै राजश्व बढाउन सकिन्थ्यो ।”
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले पनि राजश्वको लक्ष्य हासिल गर्नु ठुलो कुरा नभई आवश्यकता र औचित्यका आधारमा करको राजश्वका दर बाँडफाँड हुनुपर्ने बताएकी छन् । उनले राजश्वका स्रोतको पहिचान गर्दा स्थानीयको भावनाको सम्मान गर्दै वातावरण अनुकुल दरको निर्धारण गर्दा राम्रो हुने बताइन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत ओडले राजश्वको लक्ष्य सँगै अन्य मापदण्डलाई पनि पूरा गर्दै जानुपर्नेमा जोड दिइन ।
राजश्व शाखा प्रमुख केसीका अनुसार चालू आर्थिक वर्षमा ९ करोड भन्दा बढी राजश्व संकलन हुनसक्ने अनुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *