शेयेर गर्नुहोस
टीकापुर ०५ असोज /
कैलालीको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टलाई ‘फेरि भेटौंला’ कार्यक्रमअन्तर्गत बिदाइ गरिएको छ ।
गाउँपालिकामा करिब एक वर्ष प्रशासनिक नेतृत्व सम्हालेका भट्टलाई मायाको चिनो, टीका तथा खादा लगाएर सम्मानसहित बिदाइ गरेको हो । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित बिदाइ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लालमतिदेवी कठरिया, टीकापुर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारी, शिक्षक प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टसँगको कार्यसम्पादनका क्रममा धेरै विषय सिक्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनको कार्यशैली, प्रशासनिक क्षमता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।
वक्ताहरूले भट्टले प्रशासनिक जिम्मेवारी सम्हालेदेखि नीति, विधि र प्रक्रियालाई आधार बनाएर काम गर्ने प्रयास गरेको बताउँदै उनको आगामी कार्यक्षेत्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा जानकी गाउँपालिका वडा नं. र १ का वडा सचिव ईश्वर जैसी, कर्मचारी तथा शिक्षक प्रतिनिधि, कार्यपालिका सदस्य लगायतले मन्तव्य राख्दै जानकी गाउँपालिकामा रहँदा भट्टले पुर्याउनुभएको योगदानको स्मरण गरेका थिए ।
बिदाइका क्रममा कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरूले आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
करिब एक वर्षको बसाइँका क्रममा गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउन आफूले सकेसम्म जिम्मेवारी निर्वाह गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भट्टले आफ्नो कार्यकाल सफल बनाउन साथ, सहयोग र सहकार्य गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए । उनले कार्यक्षेत्र फरक भए पनि गाउँपालिकासँग जोडिएको आत्मीयता र यहाँका सहकर्मी तथा जनप्रतिनिधिसँगको सम्बन्ध सधैँ स्मरणीय रहने बताएका छन् ।









