शेयेर गर्नुहोस
टीकापुर ३१ जेठ /
टीकापुर जेसीज वर्ष २०२६ ले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
टीकापुर जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको जेसीज वर्ष २०२६ का अध्यक्ष कमलराज सुवेदीले जानकारी दिएका छन् । नेपाल जेसीजको निर्देशन र टीकापुर अस्पतालमा बिरामीहरुका लागि देखिएको रगत अभावलाई केही हदसम्म कम गर्न रक्तदान कार्यक्रम आयोजना गरेको बताएका छन् ।
टीकापुर अस्पतालमा दैनिक २५/३० पिन्ट रगत माग हुने गरेको छ । रेडक्रस उपशाखा टीकापुरको रक्तसञ्चार केन्द्रले १८ देखि २० पिन्टसम्म दैनिक रगत आवश्यकताको आधारमा उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका पुर्व सभापति जगदिश्वर पण्डितले जानकारी दिएका छन् । “माग भएअनुसार अहिले पुर्याउन निकै कठिन हुँदै आएको छ ।” उनी भन्छन्, “दैनिक २० पिन्टसम्म रगत रेडक्रसले उपलब्ध गराउँदै आएको छ ।”
रक्तदान कार्यक्रमका संयोजक तथा जेसीज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष तारा सिंह बमले रक्तदान सबैभन्दा ठूलो दान भएको उल्लेख गर्दै युवाहरूलाई रक्तदानमा सरिक गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । “अहिले स्थानीय सरकारदेखि प्रदेश सरकारसम्मले रगत निशुल्क गर्ने भन्दै कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।” उनले भने, “रगत निशुल्क गराउनका लागि पहिले रक्तदान गर्ने व्यक्तिहरु तयार गर्न समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ ।”









