टीकापुर अस्पतालले दिएन मागेको प्रयाप्त सुचना, आर्थिक अनियमितताको आशंका

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर अस्पताल प्रशासनले सुचनाको हक प्रयोग गएर सुचना माग गर्दा माथिल्लो निकायबाट अख्तियारी ल्याएर आउन भन्दै मागेको सुचना दिन आनाकानी गरेको छ ।
समाधान न्युज दैनिकले टीकापुर अस्पतालसँग सम्बन्धित बालाजी सर्जिकलबाट खरिद भएका सामाग्रीको विवरण, बिल भरपाई, खरिद प्रक्रिया, भुक्तानी विवरण सुचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार माग गर्दा अस्पताल प्रशासनले माग भएको सुचना दिन आनाकानी गरेको हो । २०८३ असार २६ गते प्रक्रिया पूरा गरेर सुचना माग्दा अस्पतालले २०८३ साउन १९ गते सुचना उपलब्ध गराएको थियो । उक्त विवरणमा अस्पताल प्रशासनले बालाजी सर्जिकल सप्लायर्सको माग भए अनुसार आर्थिक वर्ष २०८२/०८३ मा एक करोड १२ लाख २८ हजार ८ सय ९० रुपैयाँ बराबरको सामाग्री खरिद भएको देखिएको छ । त्यसमध्ये ८४ लाख ६७ हजार पाँच सय ३९ रुपैयाँ भुक्तानी भएको जनाएको छ ।
सुचनामा हामीले बालाजी सर्जिकलले अस्पतालले खरिद गरेको सामग्रीको बीलको प्रतिलिपी समेत माग गरेका थियौं । उक्त बिलको प्रतिलिपीलाई अस्पतालले स्वास्थ्य सेवा प्रवाह गर्ने संवेदनशील क्षेत्र भएकोले कुनै माथिल्लो अधिकार प्राप्त निकायहरुबाट लेखी आएमा आवश्यक बिल-बिजकहरु तत्काल उपलब्ध गराउने भनिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेम कुमार राई, स्टोर प्रमुख सरोज चौधरी र लेखापाल दिपा कुमारी जैशीले हस्ताक्षर गरेको उक्त पत्रमा सामाजिक विकास मन्त्रालय धनगढी, स्वास्थ्य निर्देशनालय धनगढी र प्रेस काउन्सिल नेपाललाई बोधार्थ राखिएको छ ।
कानुन अनुसार राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डतामा गम्भीर असर पर्ने सुचना, अपराध अनुसन्धानमा असर पर्ने सुचना, कुनै अपराधको अनुसन्धान, तहकिकात वा अभियोजनमा प्रतिकूल असर पर्ने विवरण, न्यायिक प्रक्रियामा असर पर्ने सुचना, अदालतको कामकारबाही वा न्याय सम्पादनमा प्रतिकूल असर पार्ने सुचना, व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य, व्यक्तिगत जीवन, परिवार वा निजी विषयसँग सम्बन्धित विवरण, सार्वजनिक हितसँग सम्बन्धित नभएको अवस्थामा सुचना उपलब्ध नगराउन पनि सक्छ । तर, सरकारी कार्यालयले “यो गोप्य हो” भनेर मात्र सूचना दिन अस्वीकार गर्दा सूचना नदिने हो भने सम्बन्धित कानुनी आधार देखाउनुपर्छ । साथै, कुनै कागजातमा केही अंश मात्र अपवादमा पर्ने भए अपवादमा नपर्ने बाँकी सूचना छुट्याएर उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
उता बोधार्थ पठाइएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी गौरसिंह कार्कीले कार्यालयमा पेश भएको बिल बिजकहरु सुचनामा माग भएअनुसार उपलब्ध गराउन समस्या नहुने बताए । उनले बिलको प्रतिलिपी दिन मिल्ने भन्दै अस्पतालसँग सहजीकरण गरेर आवश्यक सुचना उपलब्ध गराउन पहल गर्ने जानकारी दिए ।
सुचनामा माग भएको विवरण उपलब्ध नगराउँदा अस्पताल प्रशासनको बालाजी सर्जिकलसँग आर्थिक घोटालाको आशंका बढाएको छ । अस्पतालको प्रशासन कक्षमा असार २३ अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश बजगाईं र फिजियोथेरापिस्ट अनिल तिवारीबीच हातपात भएको थियो । घटनाको सीसीटीभी फुटेज २४ गते सार्वजनिक भए पनि त्यसको मुख्य कारण प्रयोगशालामा प्रयोग हुने रिएजेन्ट महँगोमा खरिद आरोप तिवारीले लगाउँदै आएका थिए । त्यहीँ विषय अहिले बालाजी सर्जिकलले उपलब्ध गराउने सामाग्रीसँग जोडिएको छ । त्यो घटना हुँदा बालाजी सर्जिकलको विषय कतिपयले सामाजिक सञ्जालमा उठाएका थिए ।
अस्पताल प्रशासनसँग सामग्री खरिद भएका बिल भरपाईको प्रतिलिपी माग्दा संवेदनशीलता देखाउनुले सर्जिकलले पेश गरेका बिल भरपाई सम्झौता अनुसार छैनन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । अर्को कुरा अस्पतालले सर्जिकलसँग २०८१ साल फागुन १२ गते सम्झौता गरेको छ । सम्झौताको बुँदा नं. ८ मा यो सम्झौताको म्याद आर्थिक वर्ष २०८२/०८३ सम्म अर्को नयाँ टेन्डर भइ नयाँ सम्झौता नभएसम्मका लागि तोकिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा भएको सम्झौता अनुसार नै अस्पतालले २०८२/०८३ मा त्यहीँ बालाजी सर्जिकलबाट सामाग्री खरिद गर्यो वा नयाँ टेन्डर निकालेर नयाँ सम्झौता गर्यो त्यो प्राप्त सुचनामा उल्लेख छैन ।
सम्झौता २०८१ मा भए पनि प्राप्त सुचना अनुसार प्रयोगशालाका लागि एक हजार तीन सय ३६ सामाग्री खरिद हुँदा एक करोड १२ लाख २८ हजार ८ सय ९० रुपैयाँ खर्च भएको छ । त्यसैगरी प्रयोगशाला सहित अन्य कक्षको लागि सोही सर्जिकलबाट एक हजार ९ सय २१ सामाग्रीमा तीन लाख २० हजार ७ सय ३० रुपैयाँ खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *