टीकापुर नगरपालिकाको कार्यपालिका बैठक बस्दै

शेयेर गर्नुहोस


टीकापुर १७ भदौ /
लामो समयदेखि कार्यवाहक नगर प्रमुखको विवादले लथालिङ्ग भएको टीकापुर नगरपालिकाको विवाद समाधान हुने देखिएको छ ।
तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुले राजिनामा दिएपछि कार्यपालिकाको बहुमत सदस्यको सिफारिसमा कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका रामबहादुर नगार्जीलाई कार्यपालिकाकै बहुमत सदस्यबाट हटाएर बलीराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाएपछि सिर्जना भएको विवाद तीन महिनापछि समाधान उन्मुख देखिएको हो । कार्यवाहक नगर प्रमुखको आधिकारिकताको मुद्दा  सर्वोच्चमा विचाराधीन रहँदा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा देखिएको अन्योलता समाधान हुने विश्वास गरिएको छ ।
नगरपालिकामा आज बुधबार कार्यपालिका बैठक बस्दै छ । जेठ १४ गते ६७ औं कार्यपालिका बैठक कार्यपालिका सदस्य लबरी चौधरीको अध्यक्षतामा बसेको थियो । उत बैठकमा कार्यवाहक नगर प्रमुख नगार्जीको उपस्थिति रहेको थिएन । सोही बैठकले बलीराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाएपछि नगार्जी सर्वोच्च अदालत पुगेका थिए । सर्बोच्चले जेठ १४ गतेको निर्णय कार्यान्वयन नगर्न आपतकालीन अन्तरिम आदेश दिएपछि नगरपालिका थप अन्योलमा धकेलिएको थियो ।
नगर सभाका जेष्ठ सदस्यको अध्यक्षतामा बैठक आव्हान गरेर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट ल्याएको नगरपालिकाले बजेटको कार्यान्वयनमा कार्यवाहक नगर प्रमुख नगार्जीले अख्तियारी दिन नमानेपछि हालसम्म बजेट कार्यान्वयनमा आउन सकेको छैन । “हामीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठक आव्हानको लागि ९ वटै वडा अध्यक्षको हस्ताक्षर सहित पत्र पठाएका थियौं ।” वडा नं.७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले भने, “प्रमुख प्रशासकीय अधिकृतले आज बिहान ८ बजेको लागि बैठक आव्हान गर्नुभएको छ ।”
कार्यपालिका बैठक आव्हान भएसँगै मंगलबार काँग्रेसबाट नगरपालिकामा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यसँग पार्टीले आन्तरिक छलफल समेत गरेको थियो । जसअनुसार नगरपालिकालाई निकास दिने कुरामा छलफल भएको एकजना कार्यपालिका सदस्यले जानकारी दिएका छन् । “महत्त्वपूर्ण कुरा कार्यपालिका बैठक र बजेट कार्यान्वयन हो । यसमा सहमति भएको छ ।” उनले भने, “आज कार्यवाहक नगर प्रमुख नगार्जीको अध्यक्षतामा कार्यपालिका बैठक बसेर चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने निर्णय हुन्छ । त्यसैअनुसार कार्यवाहक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुहुन्छ । “
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले आएपछि उनले बजेट कार्यान्वयन र कार्यपालिका बैठक सञ्चालनका लागि जनप्रतिनिधिसँग छलफल र समन्वय गर्दै आएकी थिइन । बजेट कार्यान्वयनको अख्तियारी नपाएसम्म बजेट कार्यान्वयन हुन नसक्ने बताउँदै आएकी बास्तोला आजको बैठकले निर्णय गरे बजेट कार्यान्वयनलाई अगाडि बढाउनेछिन ।
आज बस्ने कार्यपालिका बैठकमा कार्यवाहक नगर उपप्रमुखको एजेन्डा समेत पेश गर्ने तयारी भएको छ । नगर उपप्रमुख खडक शाह निलम्बनमा परेका बेला उनको स्थानमा कार्यवाहक नगर उपप्रमुखको प्रस्ताव कार्यपालिका बैठकको एजेन्डा बनेको छ । उक्त एजेन्डा माथी छलफल भएर को कार्यवाहक नगर उपप्रमुख बन्ला भन्ने चासो पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *