शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २८ असोज/
भजनी नगरपालिका वडा नं.१ स्थित महुन्याल माद्यामिक बिधालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयको आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष जगत विकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले कानुनी व्यवस्था अनुसार सामुदायिक बिधालयले कार्तिक भित्र अनिवार्य बिधालयको सामाजिक लेखापरीक्षण कार्यक्रम गरिसक्नुपर्ने बताएका छन् ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले बिधालयको शैक्षिक गुणस्तर तथा भौतिक प्रगतिका लागि सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । बिधालय प्रति सकारात्मक सुझावको अपेक्षा आफुहरुले गरेको उनको भनाई छ । भजनी नगरपालिकाकै सबैभन्दा बढी विद्यार्थी संख्या भएको उक्त बिधालयमा हाल एक हजार दुई सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन् ।
आर्थिक वर्ष २०८२/०८३ को ६ करोड ७५ लाख १७ हजार एक सय १६ रुपैयाँको आयव्यय सार्वजनिक गरेको बिधालयले तीन करोड १२ लाख १९ हजार चार सय ७१ रुपैयाँ बचत देखाएको छ भने तीन करोड ६२ लाख ९७ हजार ४५ रुपैयाँ खर्च भएको देखाएको छ । बिधालयले आफ्नो स्वामित्वमा रहेको जग्गा ठेक्का बापत ६१ लाख ९० हजार पाँच सय २० रुपैयाँ प्राप्त गर्न बाँकी प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चार लाख ९१ हजार ९ सय ८६ रुपैयाँ पेश्की बापत लिएर हिसाब मिलान गर्न बाँकी प्रतिवेदनमा देखिएको छ ।










