शेयेर गर्नुहोस
टीकापुर ०८ जेठ /
टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा झण्डै पाँच करोड बेरुजु रहेको छ ।
महालेखापरीक्षकको ६३औं प्रतिवेदनले आर्थिक वर्ष २०८१/०८२ मा टीकापुर नगरपालिकामा चार करोड ९१ लाख ८८ हजार बेरुजु देखाएको हो । नगरपालिकाको दुई अर्ब ३२ करोड ७८ लाख ७१ हजारको लेखापरीक्षण गर्दा चार करोड ९१ लाख ८८ हजार अर्थात लेखापरीक्षण बजेटको (२ दशमलव ११ प्रतिशत) बेरुजु देखाइएको हो ।
कैलालीका १३ स्थानीय तहमेमध्ये सबैभन्दा बढी बेरुजु मोहन्याल गाउँपालिकाले गरेको छ । मोहन्याल गाउँपालिकाले लेखापरीक्षण गरीको रकमको ५ दशमलव ५६ प्रतिशत बेरुजु गरेको छ । मोहन्यालको एक अर्ब १४ करोड ८५ लाख ३३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६ करोड ३८ लाख ७६ हजार रुपैयाँ बेरुजु भेटिएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रतिवेदनअनुसार घोडाघोडी नगरपालिका बढी बेरुजु हुने स्थानीय तहको दोस्रो नम्बरमा रहेको छ् । दुई अर्ब ३८ करोड ८३ लाख १७ हजारको लेखापरीक्षण गर्दा नौ करोड ८२ लाख ४८ हजार रुपैयाँ बेरुजु भेटिएको छ, जुन रकमको ४ दशमलव ११ प्रतिशत हो ।
त्यसैगरी लम्कीचुहा नगरपालिकाले ३ दशमलव २८ प्रतिशत बेरुजु कायम हुँदै कैलालीमा बढी बेरुजु देखिने स्थानीय तहको तेस्रो स्थानमा छ । नगरपालिकाको दुई अर्ब ५५ करोड ४४ लाख नौ हजार रुपैयाँको लेखापरीक्षण गर्दा आठ करोड ३९ लाख दुई हजार रुपैयाँ बेरुजु भेटिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
भजनी नगरपालिका चौथो स्थानमा छ । एक अर्ब ६७ करोड १३ लाख १८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा पाँच करोड २८ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन ३ दशमलव १६ प्रतिशत हुन आउँछ । उता धनगढी उपमहानगरपालिकाको चार अर्ब ८२ करोड १४ लाख ९३ हजारको लेखापरीक्षण गर्दा ९ करोड ४३ लाख ८६ हजार अर्थात १ दशमलव ९६ प्रतिशत बेरुजु देखिएको उल्लेख छ ।
चुरे गाउँपालिकाको एक अर्ब सात करोड ६३ लाख ६० हजारको लेखापरीक्षण गर्दा दुई करोड नौ लाख ४४ हजार १ दशमलव ९५ प्रतिशत बेरुजु छ भने बर्दगोरिया गाउँपालिकाको एक अर्ब २८ करोड ६७ लाख ७६ हजारको लेखापरीक्षण गर्दा दुई करोड २५ लाख ३६ हजार अर्थात १ दशमलव ७५ प्रतिशत बेरुजु महालेखाले औल्याएको छ ।
गोदावरी नगरपालिकाको तीन अर्ब २५ करोड ७३ लाख २० हजारको लेखापरीक्षण गर्दा तीन करोड ८३ लाख ५९ हजार अर्थात १ दशमलव १८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । कैलालीमा सबै भन्दा कम जोशीपुर गाउँपालिकाले शून्य दशमलव ६१ प्रतिशत बेरुजु गरेको छ । उक्त गाउँपालिकाको एक अर्ब २९ करोड २० लाख ९६ हजारको लेखापरीक्षण गर्दा ७८ लाख ७५ हजार रुपैयाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।
कम बेरुजु गर्नेको दोस्रो नम्बरमा गौरीगंगा नगरपालिका छ । उक्त नगरपालिकाको एक अर्ब ९० करोड आठ लाख ६९ हजारको लेखापरीक्षण गर्दा एक करोड २७ लाख ९७ हजार अर्थात शून्य दशमलव ६७ प्रतिशत बेरुजु गरेको छ । जानकी गाउँपालिकाको एक अर्ब ६६ करोड दुई लाख ३७ हजारको लेखापरीक्षण गर्दा एक करोड ३१ लाख ८० हजार शून्य दशमलव ७९ प्रतिशत बेरुजु गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।









