शेयेर गर्नुहोस
टीकापुर १० जेठ /
जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ ।
गाउँपालिका भित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा लामो समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नुपरेको हो । एक बिघा १० कट्ठा जमिन इट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।
१२ करोड ८ लाख २७ हजार ९ सय ३८ रुपैयाँको लागतमा अढाई तलाको प्रशासनिक भवनको काम त्रिवेणी, लाफा, शुभलक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाई छ । उहाँका अनुसार २०८२ असार २२ गते भवन निर्माणको लागि भएको सम्झौता अनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्ने छ । “जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो ।” इन्जिनियर शाही भन्नुहुन्छ, “अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।”
निर्माण कम्पनीका इन्जिनियर मनिष कुमार शाहले हालसम्म २५ प्रतिशत माथी काम भएको बताउनुभएको छ । उहाँले भवन निर्माण स्थलमा डुवानको समस्या हुने हुँदा वर्षातको समयमा काम गर्न कठिन हुने गरेको बताउनुभयो । “जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य छ ।” उहाँ भन्नुहुन्छ, “काम गर्दै जाँदा समस्या नआए समयमै भवन सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्छौं ।”
गाउँपालिकाले वडा नं. १ को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ । केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नं. १ को सेवा प्रवाह साविकको दुर्गौली गाविसको भवनबाट भैरहेको छ । गाउँपालिकामा सार्वजनिक जग्गाको समस्याका कारण वडा नं. ५ र वडा नं. ६ को प्रशासनिक भवन पनि निर्माण हुन सकेको छैन । दुबै वडा कार्यालय भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न भएपछि साघुरो वडाको कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्रवाह सहज हुने विश्वास गरिएको छ ।









